यामल र लेवान्डोस्कीलाई एन्टि–डोपिङ नियम उल्लङ्घनमा जरिवाना

काठमाडौँ — बार्सिलोनाका खेलाडी लामिन यामल र रोबर्ट लेवान्डोस्कीलाई युइएफएले एन्टि–डोपिङ नियम उल्लङ्घन गरेको आरोपमा प्रत्येकलाई ५ हजार युरो जरिवाना गरेको छ।

यो जरिवाना इटालीमा सम्पन्न च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा इन्टर मिलानविरुद्धको खेलसँग सम्बन्धित छ। सो खेल अतिरिक्त समयमा ४-३ ले बार्सिलोना पराजित भएको थियो।

युइएफएको अनुसन्धानले दुवै खेलाडीले डोपिङ कन्ट्रोल अफिसरको निर्देशन पालना नगरेको र डोपिङ कन्ट्रोल स्टेशनमा समयमा उपस्थित नहुने कारण नियम उल्लङ्घन गरेको पत्ता लगाएको छ।

त्यसैगरी, बार्सिलोना प्रशिक्षक हान्सी फ्लिकलाई पनि उक्त खेलमा आचरणका सामान्य सिद्धान्त र शिष्टाचार उल्लङ्घन गरेको भन्दै युइएफएले क्लब प्रतियोगिताबाट एक खेलको निलम्बन र २० हजार युरो जरिवाना लगाएको छ।

फ्लिकका सहायक प्रशिक्षक मार्कस सर्गलाई पनि समान कारणले समान आर्थिक जरिवाना र प्रतिबन्ध दिइएको छ। यस कारणले बार्सिलोना आगामी युरोपेली खेलमा उनीहरूलाई बेन्चमा राख्न नपाइने भएको छ।

तपाईको प्रतिक्रिया