महिला टी–२० क्रिकेट:नेपालले मलेसियालाई ६ विकेटले हरायो

काठमाडौं — नेपालले महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको चौथो खेलमा घरेलु टोली मलेसियामाथि ६ विकेटको सहज जित हासिल गरेको छ। मंगलबार मलेसियाको बायोमास क्रिकेट ओभलमा सम्पन्न खेलमा मलेसियाले प्रस्तुत गरेको ११२ रनको लक्ष्य नेपालले १७.३ ओभरमै चार विकेट गुमाउँदै पूरा गर्‍यो।

नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ४८ रनको उत्कृष्ट पारी खेलिन्। साथै, रुविना क्षेत्रीले अविजित २३ रन, कविता कुँवरले १६ रन र सम्झना खड्काले ११ रनको योगदान दिइन्।

मलेसियाका बलरहरू आइना हमिजा हसिम, नुर डानिया स्युहदा र माहिरा इज्जती इस्माइलले समान एक–एक विकेट लिए।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १११ रनको योगफल तयार पारेको थियो। मलेसियाका मास एलिसाले ६३ बलमा पाँच चौकाको मद्दतले अविजित ५६ रन बनाइन्। माहिरा इज्जती इस्माइलले १८ रन र नुर डानिया स्युहदाले १५ रनको योगदान गरे।

नेपालका लागि कविता कुँवरले सबैभन्दा बढी तीन विकेट लिइन् भने पूजा महतो र कविता जोशीले समान रूपमा एक–एक विकेट हात पारिन्।

यस जितसँगै पाँच खेलको शृंखला २–२ को बराबरीमा पुगेको छ। मलेसियाले पहिलो र तेस्रो खेलमा क्रमशः ३ र १३ रनले जित निकालेको थियो भने नेपालले दोस्रो खेलमा ६ विकेटको जित हासिल गरेको थियो।

अब शृंखलाको पाँचौँ तथा निर्णायक खेल बुधबार (भोलि) हुनेछ।

तपाईको प्रतिक्रिया