भ्रष्टाचार मुद्दा दायर भएपछि कांग्रेस सांसद मोहनबहादुर बस्नेत स्वत निलम्बनमा

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको प्रतिनिधिसभा सदस्यको पद स्वतः निलम्बनमा परेको छ।

२०७९ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। पूर्व सञ्चार मन्त्रीसमेत रहेका बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणमा टेराम्याक्स प्रविधि खरिद प्रकरणमा संलग्न भएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले बिहीबार विशेष अदालत, काठमाडौंमा दायर गरेको मुद्दामा बस्नेतसहित १६ जनालाई प्रतिवादी बनाइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ अनुसार सार्वजनिक पदमा रहेका व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि सम्बन्धित पद स्वतः निलम्बनमा जाने व्यवस्था रहेको छ।

तपाईको प्रतिक्रिया