बजेटको मिति सार्न सांसद विमलेन्द्र निधिको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले गणतन्त्र दिवसको महत्वलाई ध्यानमा राख्दै जेठ १५ गते बजेट प्रस्तुत गर्ने मिति सार्न प्रस्ताव गरेका छन्।

प्रत्येक वर्ष सरकारले आर्थिक वर्षको बजेट जेठ १५ गते संसदमा प्रस्तुत गर्दै आएको छ। तर, सोही दिन गणतन्त्र दिवससमेत परेकाले सांसद निधिले बजेटको मिति पुनः विचार गर्नुपर्ने सुझाव दिएका हुन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, “गणतन्त्र र बजेट दुईवटा शब्दावलीको अन्तरनिहित अर्थ हेर्ने हो भने गणतन्त्रको महत्व बढी हुन्छ। जेठ १५ गते बजेट ल्याउने व्यवस्था संविधानमा उल्लेख भएकै कारण हो, तर संविधान संशोधन गर्दा सो व्यवस्था पनि परिमार्जन गर्न सकिन्छ।”

उनले संविधान संशोधन गर्ने विषयमा दुई प्रमुख दलबीच सहमति भइसकेको भन्दै बजेटको मिति हेरफेर गर्ने विषयलाई पनि सोही प्रक्रिया अन्तर्गत समेट्न सकिने उल्लेख गरे।

सांसद निधिले यो विषय संसदसँग सम्बन्धित भएकाले सभामुख र सरकार दुबैले गम्भीरतापूर्वक विचार गर्नुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया