प्रधानमन्त्री ओली र राष्ट्रसंघका प्रतिनिधि इब्राहिमबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघअन्तर्गतको हानी–नोक्सानी कोष (Loss and Damage Fund) का कार्यकारी निर्देशक इब्राहिम चैख डाइओङबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता सम्पन्न भएको छ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले सगरमाथा संवादको पहिलो शृङ्खलामा सहभागिता जनाएबापत डाइओङलाई धन्यवाद ज्ञापन गर्दै वातावरणीय संकटप्रति विश्व समुदायको ध्यानाकर्षण आवश्यक रहेको बताए। उनले हिमाल र वातावरणको संरक्षण नभए मानवीय अस्तित्व नै संकटमा पर्न सक्ने भन्दै त्यसप्रति सशक्त रूपमा प्रतिवद्ध रहन सबै राष्ट्रलाई आह्वान गरे।

प्रधानमन्त्रीले केही धनी मुलुकहरूले पेरिस जलवायु सम्झौताबाट पछि हट्न खोजेकोप्रति गहिरो चिन्ता व्यक्त गरे। उनले नेपालजस्तो हिमाली देशमा जलवायु परिवर्तनको प्रभाव गम्भीर रहेको र सगरमाथा तथा अन्य हिमालहरूको संरक्षण केवल नेपालको मात्र नभई सम्पूर्ण विश्वको सरोकारको विषय भएको उल्लेख गरे।

कार्यकारी निर्देशक डाइओङले सगरमाथा संवादजस्तो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेकोमा नेपाललाई बधाई दिँदै, आगामी दिनमा हानी–नोक्सानी कोषको रकम परिचालन गर्दा नेपालजस्ता जलवायु संकटप्रभावित मुलुकलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।

भेटमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल र वन तथा वातावरण मन्त्रालयका सहसचिव महेश्वर ढकालसहित अन्य अधिकारीको उपस्थिति रहेको थियो।

पृष्ठभूमि
कोप–२७ को निर्णयअनुसार जलवायु परिवर्तनबाट बढी प्रभावित विकासोन्मुख राष्ट्रहरूलाई सहारा दिन हानी–नोक्सानी कोष स्थापना गरिएको हो। कोषको सञ्चालक समितिमा पेरिस सम्झौताका हस्ताक्षरकर्ता २६ राष्ट्र, १२ विकसित राष्ट्र तथा १४ विकासोन्मुख राष्ट्र प्रतिनिधि रहनेछन्। नेपालका तर्फबाट सहसचिव महेश्वर ढकाल कोषको बोर्डमा आमन्त्रित सदस्यको रूपमा सहभागी छन्।

तपाईको प्रतिक्रिया