पूर्वराजालाई घरमै सिंहासन बनाएर राख्नुस् : प्रधानमन्त्री ओलीको कटाक्ष


पोखरा ।प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कटाक्ष गर्दै राजावादीहरूलाई घरमै सिंहासन बनाएर राख्न सुझाव दिएका छन्। शुक्रबार पोखरामा आयोजित युवा संघ नेपालको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गणतान्त्रिक व्यवस्था स्थापित भइसकेकाले राजतन्त्र फर्कने सम्भावना नभएको स्पष्ट पारे।

“देशमा सिंहासन गयो, अब घरमै सिंहासन बनाएर राख्नुस्,” भन्दै प्रधानमन्त्री ओलीले जेठ १५ गते राजतन्त्र फर्काउने घोषणा ‘सपना’ भएको टिप्पणी गरे। उनले भने, “देशमा गणतन्त्र आयो, संविधान बन्यो, संसद छ, राष्ट्रपति छन्, जनताको शासन स्थापित भइसकेको छ।”

ओलीले राजतन्त्रकालमा मनपरी हत्या र दमन भएको आरोप लगाउँदै जनताले त्यस्तो व्यवस्था लखेटेर फालिसकेको दाबी गरे। उनले थपे, “जसले जंगलमा जसलाई पायो त्यसलाई मार्दै हिंडेको त्यो व्यवस्था समातेर खोरमा हाल्यौं, अनि त्यहाँबाट पनि निकालेर मुन्ट्याएर फ्याँक्यौं।”

राजावादीहरूले जेठ १५ गते निर्णायक आन्दोलन सुरु गर्ने घोषणा गरेकोप्रति प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले त्यसलाई पुनः अर्को मितिमा सार्दै भ्रम सिर्जना गर्न खोजिएको आरोप लगाए। “बैशाख ११ गते भन्छन्, फेरि जेठ १५ गते, त्यसपछि अर्को १५ गते। यस्ता सपना देखेर केही हुनेवाला छैन,” उनले भने।

बैशाख ११ गतेलाई जनताका अधिकार पुनःस्थापनाको दिनको रूपमा स्मरण गर्दै प्रधानमन्त्री ओलीले युवाहरूले त्यस दिन ‘उत्सव’ मनाएको जानकारी दिए। “संविधानमा बस्छु भनेर राजाले संसद पुनःस्थापना गरेका दिन हामीले उत्सव मनाएका हौं,” उनले उल्लेख गरे।

पूर्वराजा ज्ञानेन्द्रको ज्योतिष कुण्डली हेरेर राजतन्त्र फर्किने भविष्यवाणी गरिएको विषयमा पनि प्रधानमन्त्री ओलीले व्यंग्य गरे। उनले नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरूङमाथि कटाक्ष गर्दै भने, “मेरो कुण्डली पनि हेर्नुस्, अनि थाहा पाइहाल्नुहुन्छ।”

प्रधानमन्त्री ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई ‘हेलिकप्टरबाट भाग्ने’ सुविधा दिने भनाइप्रति पनि प्रतिक्रिया दिए। “के–के सपना देख्न थालेका छन् यिनीहरू,” भन्दै उनले त्यस्तो सोचलाई ‘उत्ताउलो’ करार गरे।

अन्त्यमा प्रधानमन्त्री ओलीले वर्तमान सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताका साथ अघि बढिरहेको दाबी गरे। “सरकार टिकेमा भ्रष्टाचार उजागर हुने डरले कतिपय आत्तिएका छन्,” उनले भने। साथै, उनले प्रतिगमन रोक्न र राष्ट्रिय हितको रक्षा गर्न युवा संघलाई अग्रपंक्तिमा उभिन आह्वान गरे।

तपाईको प्रतिक्रिया