नेपाल स्कुल फुटबल लिग साउन १७ देखि सुरु हुँदै

काठमाडौं, — थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टर (टीडीसी) को आयोजनामा नेपाल स्कुल फुटबल लिग यही साउन १७ गते (शनिबार)देखि सुरु हुने भएको छ। प्रतियोगितामा काठमाडौं उपत्यकाका आठ विद्यालयका यू–१८ टोलीले सहभागिता जनाउने छन्।

आयोजक टीडीसीले नियमित अन्तरविद्यालय फुटबल प्रतियोगिता नहुँदा प्रतिभाशाली युवा खेलाडीहरू अवसरबाट वञ्चित हुँदै आएको भन्दै लिग सञ्चालन गर्न लागिएको जनाएको छ।

प्रतियोगिता राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन हुनेछ। लिग चरणपछि शीर्ष चार टोली प्लेअफ चरणमा प्रतिस्पर्धा गर्नेछन्।

सहभागी विद्यालयहरू:

  • जेम्स स्कुलजेम्स थन्डरबोल्ट्स
  • डीएभी स्कुलसुपर डाफेज
  • कान्जिरोवा वर्ल्ड स्कुलकेडब्लूएस लुखुग एफसी
  • कान्जिरोवा स्कुलएफसी माउन्ट कान्जिरोवा
  • लिटिल एन्जल्स स्कुलएलए
  • रातो बंगला स्कुलरेड पान्डाज
  • चेल्सी वर्ल्ड स्कुलचेल्सी फाल्कन्स
  • युलेन्स स्कुलयुलेन्स प्यान्थर

लिगको विजेता टोलीले रु. ५ लाख तथा उपविजेताले रु. २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी उत्कृष्ट खेलाडी, गोलरक्षक, र सर्वाधिक गोलकर्तालाई जनही रु. ५० हजार पुरस्कार प्रदान गरिनेछ।

साथै, उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई छात्रवृत्ति तथा अन्य अवसरहरू पनि प्रदान गरिने आयोजकले जनाएको छ।

थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरका कार्यकारी निर्देशक वरुण खड्काका अनुसार, केन्द्रले फुटबल, पौडी, टेनिस, फुटसल र ई–स्पोर्ट्सजस्ता विधामा प्रशिक्षण सञ्चालन गरिरहेको छ। उनले चाँडै क्रिकेटसहित अन्य खेलकुद गतिविधिहरू पनि थप गरिने जानकारी दिए।

तपाईको प्रतिक्रिया