नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक, अस्ट्रेलिया सिरिजका लागि बिदाइ

काठमाडौँ, नेपाली राष्ट्रिय क्रिकेट टोलीले नयाँ जर्सी सार्वजनिक गरेको छ। नयाँ जर्सी नासा सेक्युरिटीजले प्रायोजन गरेको हो।

आइतबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ र नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नयाँ जर्सी सार्वजनिक गरेका थिए। सोही दिन क्यान अध्यक्ष चन्द र नासा सेक्युरिटीजका निर्देशक मदन पौडेलबीच प्रायोजन सम्झौतामा पनि हस्ताक्षर भएको थियो।

अघिल्लो प्रायोजक केल्मी थियो। नयाँ जर्सीमा क्यान र नासा सेक्युरिटीजको लोगो अंकित गरिएको छ।

उक्त कार्यक्रममा नेपाली क्रिकेट टोलीलाई आगामी अगस्ट १४ देखि २४ सम्म अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिज खेल्न बिदाइ गरिएको छ। क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरिसकेको छ।

नेपालले यो सिरिजलाई अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटका लागि तयारीको रूपमा लिएको छ। सिरिजमा ११ टोली सहभागि हुनेछन् भने नेपालले अगस्ट १५ मा स्ट्राइक टोलीसँग खेल्दै आफ्नो यात्रा सुरु गर्नेछ।

तपाईको प्रतिक्रिया