नेपालसँगको मैत्रीपूर्ण फुटबल नखेल्ने बंगलादेशको निर्णय

काठमाडौं। बंगलादेशले नेपालसँग सेप्टेम्बर ६ र ९ मा तय भएको दुई मैत्रीपूर्ण फुटबल खेल नखेल्ने निर्णय गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी एसियन कप छनोटअगाडि बंगलादेशसँग मैत्रीपूर्ण खेल हुने जनाएको थियो।

तर, बंगलादेश फुटबल फेडेरेसन (बिएफएफ)ले दक्षिण एसियाबाहिरका बलिया टोलीसँग खेल्ने निर्णय गर्दै नेपालसँगको खेल रद्द गरेको हो। बिएफएफका अनुसार भियतनाम र कम्बोडिया उनीहरूसँग खेल्न इच्छुक देखिएका छन्।

बिएफएफ मिडिया समितिका अध्यक्ष आमिरुल इस्लामका अनुसार, बलियो टोलीसँग प्रतिस्पर्धा गर्दा टोलीको स्तर उकासिने विश्वासका साथ निर्णय गरिएको हो।

बंगलादेशको निर्णयपछि नेपालको एसियन कप छनोटका लागि हुने तयारी अन्योलमा परेको छ। नेपाल समूह ‘एफ’ मा मलेसिया, लाओस र भियतनामसँग रहेको छ। हालसम्म नेपालले मलेसिया र लाओससँगका दुई खेल गुमाइसकेको छ। नेपालले आगामी अक्टोबर ९ मा भियतनामसँग प्रतिस्पर्धा गर्नेछ।

तपाईको प्रतिक्रिया