नेपालमा लोकतन्त्र गोलीले होइन, बोलीले आएको हो : सञ्चारमन्त्री गुरुङ


काठमाडौं ।सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपालमा गणतन्त्र बल प्रयोगबाट नभइ संवाद र जनताको मतदानबाट स्थापित भएको स्पष्ट पारेका छन्।

बिहीबार सिंहदरबारमा आयोजित मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने कार्यक्रममा सञ्चारकर्मीहरूका जिज्ञासाको जवाफ दिंदै मन्त्री गुरुङले भने, “नेपालमा गणतन्त्र बुलेट होइन, ब्यालेटमार्फत आएको हो। माओवादी पक्षलाई पनि पटक–पटक मैले सम्झाएको छु कि गणतन्त्र जनताको बोलीबाट आएको व्यवस्था हो, गोलीबाट होइन।”

उनले सत्तारूढ दल र प्रतिपक्ष दुवै गणतन्त्रको पक्षमा रहेको उल्लेख गर्दै गणतन्त्रको आलोचना गर्न पाउने अधिकार सबै नागरिकलाई रहेको बताए। तर, राजतन्त्र पुनर्स्थापनाको पक्षमा उभिने वा मुलुक टुक्र्याउने प्रयास संविधानविपरीत हुने भन्दै यस्तो गतिविधिबाट सचेत रहनुपर्ने चेतावनीसमेत दिए।

“राजतन्त्रको समर्थन गर्नु, राष्ट्र विखण्डनको कुरा गर्नु संविधानको विरोध हो। प्रजातन्त्र र जनताको अधिकारको विरोध हो,” मन्त्री गुरुङले भने, “हामीले आलोचना गर्न पाइन्छ, तर संवैधानिक सीमा ननाघ्न जरुरी छ।”

त्यसैगरी, उनले राजावादीहरूलाई अभिव्यक्ति दिने अवसर दिएको आधारमा सरकारले डराएको ठान्नु नहुने समेत स्पष्ट पारे।

तपाईको प्रतिक्रिया