दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता छिटो सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मङ्सिरभित्र दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न युवाहरु र खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई चुस्त र प्रभावकारी तयारी गर्न निर्देशन दिएका छन्।

बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले आगामी सन् २०२६ मा जापानमा हुने एसियन गेम्सको पूर्वसन्ध्यामा आयोजना हुन लागेको राष्ट्रिय खेलकुदको तयारी छिटो थाल्न जोड दिएका थिए।

उनीले प्रतियोगिताको मिति र स्थान राम्रोसँग अध्ययन गरेर निर्णय गर्न र निर्णयपछि त्यसमा कुनै परिवर्तन नगर्न पनि आग्रह गरेका छन्।

राष्ट्रिय खेलकुद परिषद्का संरक्षक समेत रहनुभएका प्रधानमन्त्री ओलीले मन्त्रालय र परिषद्का नेतृत्वबीच समन्वय आवश्यक रहेकोमा पनि जोड दिएका थिए।

छलफलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, परिषद्का उपाध्यक्ष ध्रुव आचार्य र सदस्यसचिव टङ्कलाल घिसिङ लगायतका अधिकारीहरू सहभागी थिए।

तपाईको प्रतिक्रिया