गृहमन्त्री रमेश लेखकमाथि गम्भीर प्रश्न– के गर्दै छ कांग्रेस ?


काठमाडौं ।विदेश पठाउने नाममा भिजिट भिसाको दुरुपयोग र त्यसमा गृह मन्त्रालयसम्म ‘कनेक्सन’ पुगेको खुलासासँगै देशको राजनीति तातिएको छ। यो प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम समेत जोडिएपछि कांग्रेस नेतृत्वको भूमिकामाथि गम्भीर प्रश्न उठेका छन्।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईसहित चार जनालाई नियन्त्रणमा लिएको थियो। तीमध्ये तीन जना अझै नियन्त्रणमा छन् — खगेन्द्र सुवेदी, कविता पौडेल र बालकृष्ण बस्नेत। उनीहरूलाई भट्टराईकै निर्देशनमा काममा संलग्न गराइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सूत्रका अनुसार, भिजिट भिसाको नाममा विदेश जान चाहने नेपाली नागरिकहरूसँग ५० हजारदेखि ३ लाख रुपैयाँसम्म असुल गरिएको छ। अख्तियारले उनीहरूको कम्प्युटर, मोबाइललगायत उपकरणहरू बरामद गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रकरण थप पेचिलो बनेको छ, जब भट्टराईलाई गृहमन्त्री रमेश लेखककै सिफारिसमा विमानस्थलमा खटाइएको र अनुसन्धान सुरु हुने खबर पाएपछि उनलाई हतारहतरमा मन्त्रालयमै तानिएको दाबी गरिएको छ। यसले उच्च तहसम्मको मिलेमतोको आशंका बलियो बनाएको छ।

अख्तियारका एक उच्च अधिकारीका अनुसार, “अनुसन्धान गोप्य तरिकाले भइरहेको छ र हालसम्म भेटिएका प्रमाणहरूले थप रहस्यहरू खुल्ने सम्भावना देखिन्छ।”

तर, यति गम्भीर विषयमा गृहमन्त्री लेखकले अझै सार्वजनिक रूपमा केही टिप्पणी गरेका छैनन्। उता नेपाली कांग्रेसले पनि यो विषयमा औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन।

यसैबीच, कांग्रेस सांसद तथा प्रतिनिधिसभाको सुशासन समितिका सभापति रामहरि खतिवडाले भने संसदमै जवाफ दिनु उपयुक्त हुने बताएका छन्। “अब यो विषय संसदमा उठिसकेको छ, जवाफ संसदमै दिनु राम्रो हुन्छ,” उनको भनाइ छ।

तपाईको प्रतिक्रिया