गभर्नर नियुक्तिमा कानुन उल्लंघन भएको आरोप सांसद शाहीको, पौडेल अयोग्य दाबी


काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेलको नियुक्ति कानुनविपरीत भएको आरोप लगाएका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक शाहीले गभर्नर नियुक्ति प्रक्रिया र पात्रता दुवै पक्षमा कानुनी व्यवस्था उल्लंघन भएको दाबी गरे।

“राष्ट्र बैंक ऐनअनुसार गभर्नर बन्न कुनै पनि राजनीतिक दलको सदस्य नहुनुपर्ने स्पष्ट व्यवस्था छ,” शाहीले भने, “तर, मौद्रिक नीतिबारे न्यूनतम ज्ञान नभएको र दलगत पृष्ठभूमि बोकेको व्यक्तिलाई नियुक्त गरिएको छ।”

गत मंगलबार मन्त्रिपरिषद्को बैठकले गभर्नर सिफारिस समितिको सिफारिसका आधारमा अर्थविद् विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको थियो।

सांसद शाहीले गभर्नरको नियुक्ति राजनीतिक भागबण्डाका आधारमा भएको भन्दै आपत्ति जनाएका हुन्। यद्यपि सरकारले पौडेलको नियुक्ति प्रक्रिया वैधानिक भएको दाबी गर्दै आएको छ।

तपाईको प्रतिक्रिया