काठमाडौं स्पाइकर्सको नयाँ मुख्य प्रशिक्षकमा लोकेन्द्र बुढा नियुक्त

काठमाडौँ — एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को फ्रेन्चाइज टोली काठमाडौं स्पाइकर्सले नयाँ मुख्य प्रशिक्षकको रुपमा लोकेन्द्र बुढालाई नियुक्त गरेको छ। लामो समय खेलाडी र प्रशिक्षक दुवै भूमिकामा काम गर्दै आएका लोकेन्द्र पहिलो पटक फ्रेन्चाइज भलिबल लिगमा प्रशिक्षक बनेका हुन्।

पहिलो संस्करणमा नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक समेत रहेका जगदिश भट्ट काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षक थिए। यस सिजन भने लोकेन्द्र बुढालाई नयाँ नेतृत्व दिइएको छ।

लोकेन्द्रले त्रिभुवन आर्मी क्लबबाट खेलाडीको रुपमा सक्रिय खेलाडी जीवन बिताएका थिए र हाल सोही क्लबमा प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका छन्। उनले राष्ट्रिय टिमको कोचिङ स्टाफको रुपमा समेत काम गरिसकेका छन्।

मुख्य प्रशिक्षक नियुक्त भएपछि लोकेन्द्र बुढाले आफ्नो जिम्मेवारी पूरा गरी उत्कृष्ट नतिजा ल्याउने प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

काठमाडौं स्पाइकर्स टोलिमा नेपाली राष्ट्रिय महिला टिमकी मुख्य स्पाइकर उषा भण्डारी मार्की प्लेयरका रुपमा रहेका छन्। साथै मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री र भुवनेश्वरी चन्द पनि टोलीमा छन्। अक्सनबाट अनुबन्ध भएका कबिता भट्ट अष्ट्रेलिया गएका कारण उनको स्थानमा भुवनेश्वरी चन्दलाई राखिएको छ।

तपाईको प्रतिक्रिया