कमल थापालाई स-सम्मान फिर्ता गर्नुपर्छ : अध्यक्ष लिङ्देनको चेतावनी

काठमाडौं, – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरीले नियन्त्रणमा लिएका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई तत्काल स-सम्मान रिहा गर्न माग गरेका छन्।

थापालाई काठमाडौंको नारायणचौरबाट प्रहरीले आइतबार दिउँसो नियन्त्रणमा लिएको हो। भिड बढाउने अभिव्यक्तिहरू दिएको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरी कारबाहीप्रति कडा असन्तुष्टि जनाउँदै अध्यक्ष लिङ्देनले नारायणचौरमा आयोजित विरोध सभामा भने, “कमल थापालगायतलाई यतै ल्याएर स-सम्मान फिर्ता गर्नुहोस्, हैन भने हामी देशभरका समर्थकहरूलाई काठमाडौं बोलाउँछौं। खास लडाइँ भोलिबाट सुरू हुन्छ।”

काठमाडौंबाट ५० स्थानबाट आन्दोलन थाल्ने चेतावनी

लिङ्देनले थप चेतावनी दिँदै भने, “हाम्रो भद्रतालाई कमजोरी नठान्नुस्। अब हामी एक ठाउँमा भेला भएर होइन, ५० ठाउँबाट निस्कनेछौं। यदि अहिले थापालाई स-सम्मान यहाँ ल्याएर फिर्ता नगरिए उपत्यका बन्दको आन्दोलन भोलिबाट सुरू हुन्छ।”

संयुक्त जनआन्दोलनको पृष्ठभूमि

नवराज सुवेदीको नेतृत्वमा रहेको ‘संयुक्त जनआन्दोलन समिति’ ले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन थालेको छ। राजसंस्था पुनर्स्थापना, हिन्दू राष्ट्र घोषणा र संघीयता खारेजजस्ता माग राखेर आन्दोलन अघि बढाइएको छ।

उक्त आन्दोलनलाई राप्रपा, राप्रपा नेपाललगायत राष्ट्रवादी धारका दलहरूको समर्थन रहेको छ।

तपाईको प्रतिक्रिया