ओलम्पिकको तदर्थ कमिटी छिट्टै गठन हुने : खेलकुद मन्त्री चौधरी

काठमाडौँ, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ कमिटी चाँडै गठन गरिने बताएका छन्।

बुधबार काठमाडौँमा सम्पन्न नेपाल एथलेटिक्स संघको चुनावी साधारण सभाको उद्घाटन गर्दै मन्त्री चौधरीले एनओसीले नेपालको कानून नमानेको र खेलकुद क्षेत्रमा निरन्तर विवाद सिर्जना गरिरहेको भन्दै तदर्थ कमिटीमार्फत अघि बढ्नु अपरिहार्य भएको बताएका हुन्।

उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा तदर्थ कमिटी गठन गर्न लागिएको हो। “ओलम्पिक कमिटीमा देखिएको विवादबारे प्रधानमन्त्रीलाई विस्तृत जानकारी गराइसकेका छौँ,” मन्त्री चौधरीले भने, “२२ वटा राष्ट्रिय खेल संघका पदाधिकारी र मन्त्रालयका प्रतिनिधिहरूले प्रधानमन्त्रीसँग भेट गरेर स्थिति स्पष्ट गराएका छन्।”

उनले प्रधानमन्त्रीको खेलकुदसम्बन्धी निर्देशन चाँडै सार्वजनिक गरिने जानकारी पनि दिए।

युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यसअघि नै जीवनराम श्रेष्ठ नेतृत्वको एनओसीलाई मान्यता नदिने बताइसकेका छन्।

यसैबीच, नेपाल एथलेटिक्स संघको सोही साधारण सभाबाट बुधबार चार वर्षका लागि नयाँ कार्यसमिति चयन गरिने भएको छ। सभामा बागमती र गण्डकीबाहेक पाँच प्रदेशका प्रतिनिधिहरू सहभागी भएका थिए।

तपाईको प्रतिक्रिया