एएफसी यु–२० महिला एसियन कप छनोट :साउदी अरेबियामाथि नेपालको जित

काठमाडौं । एएफसी यु–२० महिला एसियन कप छनोटको दोस्रो खेलमा साउदी अरेबियामाथि रोमाञ्चक जित निकाल्दै नेपालले प्रतियोगिताको अर्को चरणमा पुग्ने सम्भावना जिवन्त राख्न सफल भएको छ।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सम्पन्न खेलमा अन्तिम मिनेटमा गरिएको सुक्रिया मियाँको निर्णायक गोल नेपालका लागि अत्यन्तै महत्वपूर्ण बन्यो। निर्धारित ९० मिनेट सकिन केही सेकेन्ड मात्र बाँकी हुँदा, मिना देउवाले दायाँबाट दिएको क्रसलाई पूर्णिमा राईले छोडेपछि, अनमार्क अवस्थामा रहेकी सुक्रियाले बाँया किनाराबाट उत्कृष्ट गोल गर्दै नेपालको जित सुनिश्चित गरिन्।

खेलको सुरुवाती चरणमै नेपालले केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन। छैटौं मिनेटमा डिफेन्डर सरिता नाथको फ्रिकिक सिधा साउदी किपरको हातमा पुगेको थियो। ३६औं मिनेटमा मनिषा सेनलाई पेनाल्टी बक्सभित्र लडाइएपछि नेपालले पेनाल्टी पाएको थियो। तर, ३८औं मिनेटमा मिना देउवाले प्रहार गरेको पेनाल्टी बल बारमा लागेर फर्किएपछि नेपालले अग्रता लिनको अवसर गुमायो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भने नेपालले आक्रामक शैलीमा खेल्दै दबाब सिर्जना गर्‍यो। त्यसकै नतिजास्वरूप अन्तिम क्षणमा गोल गर्दै नेपालले महत्वपूर्ण जित दर्ता गर्‍यो।

यसअघि, नेपालले आयोजक भुटानसँगको पहिलो खेल १–१ को बराबरीमा समाप्त गरेको थियो। छनोट चरणको अन्तिम खेलमा नेपालले आगामी साउन २३ गते (अगष्ट १०) उत्तर कोरियासँग प्रतिस्पर्धा गर्नेछ।

तपाईको प्रतिक्रिया