अर्गानिक कर्णाली : खर्क संरक्षण, अर्गानिक उत्पादन र किसानको आत्मनिर्भर कथा

सुर्खेत — कर्णाली प्रदेश नेपालको एक अद्वितीय पारिस्थितिक तथा सांस्कृतिक भू–परिदृश्यका रूपमा स्थापित छ, जहाँ चरनभूमि, कृषियोग्य जमिन, पशुपालन प्रणाली र स्थानीय जीविकोपार्जनबीच गहिरो अन्तरनिर्भरता विद्यमान छ। स्वच्छ वातावरण, समृद्ध जैविक विविधता, रैथाने बाली तथा परम्परागत कृषि अभ्यासले यस क्षेत्रलाई दीर्घकालदेखि प्राकृतिक तथा अर्गानिक जीवनपद्धतिमा आधारित राख्दै आएको छ।

यद्यपि पछिल्लो समय रासायनिक मलको बढ्दो प्रयोग, वन डढेलो तथा , अव्यवस्थित भू–उपयोग र जलवायुजन्य जोखिमहरूले यस पारिस्थितिक सन्तुलनमा क्रमिक चुनौती उत्पन्न गरिरहेका छन्।

जुम्लाको गुठीचौर क्षेत्र यस जटिल अवस्थाको प्रतिनिधि उदाहरणका रूपमा देखा परेको छ। यहाँको चरन प्रणालीमा आधारित पशुपालक समुदायको जीविकोपार्जन मौसमी चक्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको छ। कार्तिकदेखि मंसिरसम्मको सुक्खा अवधिमा घाँसको अभाव र पुसदेखि माघसम्म हुने हिमपातका कारण चरन पहुँचमा अवरोध उत्पन्न हुँदा पशुपालकहरूलाई पशुखाद्य तथा अत्यावश्यक वस्तु उच्च लागतमा खरिद गर्नुपर्ने अवस्था सिर्जना हुन्छ। यसले उच्च हिमाली समुदायमा आर्थिक जोखिम र अस्थिरता थप गहिरो बनाएको छ।

यस्ता चुनौतीहरूको दीर्घकालीन समाधानका रूपमा कर्णाली प्रदेशलाई सन् २०१८ मा “अर्गानिक प्रदेश” घोषणा गरिएको थियो। उक्त पहलले परम्परागत अर्गानिक अभ्यासको पुनर्जीवन, दिगो कृषि प्रणालीको प्रवर्द्धन तथा स्थानीय जीविकोपार्जन सुदृढीकरणलाई मूल लक्ष्यका रूपमा अघि सारेको छ। प्रदेश तथा स्थानीय सरकार, समुदाय र साझेदार संस्थाहरूबीचको समन्वित प्रयासमार्फत माटो व्यवस्थापन, पशुपालन र अर्गानिक कृषि प्रणालीलाई एकीकृत रूपमा कार्यान्वयन गरिँदै आएको छ।

गुठीचौरका चरनभूमिहरू, जसलाई “जीवनका चरन” का रूपमा व्याख्या गरिन्छ, पारिस्थितिक सन्तुलन कायम राख्न तथा जैविक विविधता संरक्षणमा केन्द्रीय भूमिका निर्वाह गर्दछन्। राष्ट्रिय स्तरमा करिब २२.६५ प्रतिशत भू–भाग चरन क्षेत्रले ओगटेको भए पनि अति–चरन, जलवायु परिवर्तन, जलअभाव तथा भूमि क्षयीकरणका कारण यस्ता क्षेत्रहरू क्रमशः सङ्कुचित हुँदै गएका छन्।

यस सन्दर्भमा स्थानीय तह, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (आईसिमोड), कुमारी बैंक लिमिटेड तथा स्थानीय समुदायबीच सहकार्य गरी गुठीचौरलाई अर्गानिक केन्द्रका रूपमा विकास गर्ने पहल अघि बढाइएको छ। यसअन्तर्गत ५९० रोपनी क्षेत्रफलमा फैलिएको भेडा फार्मलाई नमुना चरन व्यवस्थापन केन्द्रका रूपमा स्तरोन्नति गर्ने कार्य प्रक्रियामा रहेको छ।

यद्यपि, हिउँदको समयमा हरियालीको अभावले पशुपालन व्यवस्थापनलाई अझ जटिल बनाउँदै आएको छ। रासायनिक मलको विकल्पका रूपमा प्राकृतिक मल प्रयोग गर्दा श्रम तथा स्रोतको माग बढ्ने भएकाले कृषकहरू थप दबाबमा परेका छन्। आवश्यक वस्तुमा सीमित सरकारी सहुलियतले समस्या थप जटिल बनाएको छ, जसका कारण कतिपय अवस्थामा मौसमी बसाइँसराइसमेत देखिने गरेको छ।

यसैबीच, गुठीचौर क्षेत्र आन्तरिक पर्यटनका लागि उदीयमान गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। प्रत्येक शनिबार करिब एक हजार आन्तरिक पर्यटकको आगमन हुने गरेको भए पनि अव्यवस्थित सवारी आवागमनले चरनभूमिमा नकारात्मक प्रभाव पारिरहेको छ। आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि व्यवस्थित पार्किङ स्थल, फोहोर व्यवस्थापन प्रणाली, सरसफाइ पूर्वाधार तथा स्थानीय समुदायको सहभागितामा पर्यटन सेवा व्यवस्थापनका कार्यक्रमहरू अघि सारिएका छन्।

विज्ञहरूले चरन प्रणालीमा पशुधनको उपस्थितिलाई पारिस्थितिक सन्तुलनको अनिवार्य घटकका रूपमा व्याख्या गरेका छन्। पशुधनको अभावमा चरनभूमि वन क्षेत्रमा रूपान्तरण भई जैविक विविधता तथा पर्यटन दुवैमा प्रतिकूल असर पर्ने चेतावनी दिइएको छ। दिगो विकासका लागि मूल्य अभिवृद्धि, क्षमता अभिवृद्धि, स्थानीय उद्यमशीलता प्रवर्द्धन तथा कृषि–पर्यटन अन्तरसम्बन्ध सुदृढ गर्नुपर्नेमा जोड दिइएको छ।

वित्तीय संस्थाहरूले पनि अर्गानिक अभियानलाई सुदृढ बनाउन सहकार्य बढाएका छन्। कुमारी बैंक लिमिटेडले अर्गानिक कृषकहरूका लागि धितोबिनाको ऋण, सहुलियत ब्याजदर तथा बीमा सुविधा उपलब्ध गराउँदै आएको छ। नेपाल राष्ट्र बैंकले कृषि तथा अर्गानिक क्षेत्रलाई प्राथमिकता दिँदै ५ प्रतिशतभन्दा कम ब्याजदरमा पुनर्वित्त सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ।

दैलेख जिल्लाको भैरवी गाउँपालिकाले अर्गानिक कृषि प्रणालीको सफल अभ्यास प्रस्तुत गरेको छ। २६ सदस्यीय ज्वाला कृषक समूहले जलवायु–अनुकूल कृषि प्रविधि अपनाउँदै आत्मनिर्भरता अभिवृद्धि गरेका छन्। परम्परागत बिउ तथा प्राकृतिक मल प्रयोगमार्फत गोलभेंडा, काउली, बन्दागोभी र भण्टा उत्पादन गरी घरेलु उपभोगसँगै आयआर्जनको आधार विस्तार गरिएको छ।

सामुदायिक सिकाइ प्रक्रियाले यस रूपान्तरणलाई थप सुदृढ बनाएको छ। सिप्रेड (CEAPRED) को सहकार्यमा कृषकहरूले भर्मीकम्पोस्ट उत्पादन, झोल मल तयारी, एकीकृत कीट व्यवस्थापन, अन्तरबाली प्रणाली तथा टनेल खेतीजस्ता प्रविधि अवलम्बन गर्दै उत्पादनशीलता र जलवायु सहनशीलता अभिवृद्धि गरेका छन्।


गुठीचौर र भैरवीले कर्णाली प्रदेशमा अर्गानिक रूपान्तरणका दुई परिपूरक आयाम—चरनभूमि व्यवस्थापन र दिगो कृषि प्रणाली—लाई सशक्त रूपमा प्रतिनिधित्व गर्छन्। स्थानीय सरकार, आईसिमोड, वित्तीय संस्था तथा समुदायबीचको समन्वित सहकार्यले अर्गानिक तथा जलवायु–अनुकूल प्रणालीलाई क्रमशः संस्थागत र दिगो बनाउँदै लगेको छ।

अर्गानिक कर्णाली केवल नीतिगत घोषणामा सीमित नभई पारिस्थितिक पुनर्सन्तुलन, प्राकृतिक स्रोतको संरक्षण र दिगो जीविकोपार्जन सुनिश्चित गर्ने दीर्घकालीन रूपान्तरणको प्रक्रिया हो। “माटो संरक्षणमार्फत भविष्य संरक्षण” भन्ने साझा दृष्टिकोणसहित अघि बढिरहेको यो अभियानले कर्णालीको प्राकृतिक सम्पदा जोगाउँदै समुन्नत, लचिलो र दिगो भविष्यतर्फ मार्गनिर्देशन गर्ने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया