अब मधेसमा तीव्र विकासको लहर आउनेछ : प्रधानमन्त्री ओली

जनकपुरधाम, – प्रधानमन्त्री केपी शर्मा ओलीले अब मधेससहित सम्पूर्ण देशमा तीव्र गतिमा विकासको लहर आउने दाबी गरेका छन्।

आइतबार जनकपुरधामस्थित महेन्द्र नारायण निधि सभाहलमा आयोजित एक कार्यक्रममार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक (दोस्रो चरण)’ योजनाअन्तर्गत मधेस प्रदेशका आठवटै जिल्लाका ६४ वटै निर्वाचन क्षेत्रको ३२० किलोमिटर सडकको डिजिटल माध्यमबाट शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले विकासलाई अब “रकेटको गतिमा” अघि बढाइने बताए।

“अब विकास रोकिँदैन”

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भने, “मैले आज शिलान्यास गरेको सडक निर्माण कार्य सबैको प्रयासबाट गुणस्तरीय ढंगले सम्पन्न भई प्रदेशको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ भन्ने विश्वास लिएको छु।” उनले मधेसलाई ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण “जागरुक प्रदेश” भन्दै यसको विकासका लागि अब ढिलाइ नहुने स्पष्ट पारे।

सुशासन र आत्मनिर्भरता अपरिहार्य

प्रधानमन्त्रीले सुशासनलाई विकासको पहिलो सर्तको रूपमा उल्लेख गर्दै जनप्रतिनिधिहरूलाई “अरूको मुख ताक्ने होइन, आफैंबाट सुशासन कायम गर्न” आह्वान गरे। उनले मधेसलाई कवि, साहित्यकार, चिन्तक र विद्वानहरूको भूमि भएको उल्लेख गर्दै भने, “यो ज्ञानको केन्द्र हो, तर कृत्रिम कारणहरूले पछाडि पारिएको हो। अब त्यो समय समाप्त भइसकेको छ, अब हामी अगाडि बढ्नेछौं।”

मधेसमा देखिएका उपलब्धि र आगामी योजना

प्रधानमन्त्री ओलीले मधेसमा पछिल्ला वर्षहरूमा विकासको गति देखिएको उल्लेख गर्दै १० हजारभन्दा बढी घर निमुखा जनतालाई प्रदान गरिएको बताए।

“बाटाहरू चौडा भएका छन्, जनकपुरमा रेल सञ्चालनमा आएको छ। अब त्यसलाई बर्दिबाससम्म विस्तार गर्ने योजना छ। रेलको संख्या थप्नेछौं। घाटामा नजाओस् भनेर हामी आवश्यक प्राविधिक तालिमको प्रबन्ध तुरुन्त गर्दैछौं,” उनले भने।

प्रधानमन्त्रीको भनाइअनुसार मधेसमा विकास अब केवल नारा नभई कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको छ। सरकार योजनाबद्ध रूपमा पूर्वाधार विस्तार, आवास, यातायात र शिक्षा क्षेत्रमा सुधार ल्याउन अग्रसर हुने बताइएको छ।

तपाईको प्रतिक्रिया