६० किलो सुन प्रकरण : धरौटीमा छुटेकी अमला रोका सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पुनः पक्राउ

काठमाडौं – चर्चित ६० किलो सुन तस्करी प्रकरणमा संलग्न ठहरिएकी अमला रोकालाई अदालतबाट धरौटीमा रिहा गरिएको केही घण्टामै सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि पुनः पक्राउ गरिएको छ।

काठमाडौं जिल्ला अदालतले दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि रोका सोमबार छुटेकी थिइन्। तर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले उनलाई अदालत परिसरबाटै पुनः नियन्त्रणमा लिएको हो।

CIB का वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) होवीन्द्र बोगटीले भने, “उहाँलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान गर्नुपर्ने भएकाले नियन्त्रणमा लिएका हौं।”

नेपाल प्रहरीले सुन तस्करी र त्यसको व्यवस्थापनमा संलग्न भएको प्रमाणसहित जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा प्रतिवेदन पेश गरेको थियो। त्यसैको आधारमा अमला रोकालाई प्रतिवादीका रूपमा मुद्दामा समावेश गरिएको हो।

अदालतले उक्त मुद्दामा धरौटीमा छोड्ने आदेश दिएपछि सम्पत्ति शुद्धीकरणसम्बन्धी अलग अनुसन्धानको आधारमा पुनः पक्राउ गरिएको हो।

तपाईको प्रतिक्रिया