५६ बोरामा प्याक गरिएको १ हजार ४ सय किलो गाँजा सप्तरीमा बरामद

सप्तरी । सप्तरीमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। डाक्नेश्वरी नगरपालिका–६, कटैया गाउँस्थित एक घरबाट करिब १ हजार ४ सय किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

गाँजा बरामद भएपछि प्रहरीले स्थानीय भोला सदालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपालका अनुसार आइतबार असोज ४ गते बिहान करिब पौने १ बजे प्राप्त सूचनाका आधारमा सदाको घरमा खानतलासी गरिएको थियो।

खानतलासीका क्रममा ५६ वटा बोरामा प्याक गरेर राखिएको अवस्थामा गाँजा फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।

नियन्त्रणमा लिइएका सदालाई थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइएको छ। सीमावर्ती क्षेत्रमा पर्ने भएकाले बरामद गाँजा भारततर्फ लैजाने तयारीमा राखिएको हुनसक्ने प्रहरीको प्रारम्भिक आशंका रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया