३१९ केजी चरेससहित ट्रक चालक पक्राउ, भारतीय सीमा हुँदै तस्करीको योजना खुलासा

वीरगन्ज, – पर्साको वीरगन्जबाट प्रहरीले ठूलो परिमाणको लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीले ३१९ केजी चरेससहित मकवानपुर थाहा नगरपालिका–१२ का ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तानलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार बुधबार बेलुकी बाराको परवानीपुरबाट वीरगन्जस्थित सिर्सिया सुख्खा बन्दरगाह (ड्राइपोर्ट)तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकलाई परवानीपुर चोकमा रोकेर चेकजाँच गर्दा ट्रकको लोडिङ्ग भागमा प्लास्टिकको बोरामा प्याक गरिएको अवस्थामा चरेस फेला परेको हो।

पक्राउ परेका स्याङ्तानको साथबाट प्रहरीले १ लाख ९२ हजार रुपैयाँ नगदसमेत बरामद गरेको छ। उक्त नगद रकम उनले लगाएको पाइन्टको खल्तीमा रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद चरेसको बजार मूल्य करिब १ करोड रुपैयाँ रहेको अनुमान गरिएको छ। प्रारम्भिक अनुसन्धानमा स्याङ्तानले उक्त चरेस धादिङबाट लोड गरी वीरगन्जको ड्राइपोर्ट नाका हुँदै भारत पुर्‍याउने योजना रहेको स्विकारेका छन्।

स्याङ्तानमाथि लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप लिइएको छ।

बिहीबार जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा एसपी मिश्रले चरेस तस्करीमा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा संलग्नता पत्ता लगाउन अनुसन्धानलाई थप सघन बनाइएको जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया