१२८ ग्राम ब्राउन सुगरसहित एकजना धरानबाट पक्राउ

धरान — सुनसरी प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। शुक्रबार इटहरी उपमहानगरपालिका–१७ बाट १२८ ग्राम ब्राउन सुगरसहित कारोबारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए।

पक्राउ परेका व्यक्ति सप्तरीको मलहनिया घर भई हाल इटहरी–१७ बालग्रामस्थित गणेशप्रसाद ढकालको घरमा डेरा गरी बस्ने ३७ वर्षीय सत्य नारायण यादव हुन्।

एसपी तिम्सिनाका अनुसार यादवले कोठाभित्र ब्राउन सुगर लुकाएर राखेको भन्ने गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय पकलीको संयुक्त टोलीले छापा मारेको थियो।
प्रहरीले घटनास्थलबाट १२८ ग्राम ब्राउन सुगर, एक थान डिजिटल तराजु र एक थान मोबाइलसमेत बरामद गरेको छ।

पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय पकलीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया