स्वच्छ भारत अभियानका प्रविधि नेपालले अपनाउने

काठमाडौं : नेपाल सरकारले अब स्वच्छ भारत अभियानमा प्रयोग भएका प्रविधिहरूलाई अपनाउने निर्णय गरेको छ। खानेपानी, सरसफाइ, स्वच्छता र फोहोर व्यवस्थापनका क्षेत्रहरूमा भारत र नेपाल सरकार बीच सहकार्य गर्ने समझदारी भएको हो। यस समझदारी अनुसार, भारत सरकारले स्वच्छ भारत अभियान अन्तर्गत अपनाइएका प्रविधिहरू नेपाललाई हस्तान्तरण गर्नेछ।

भारतका विभिन्न तालिम केन्द्रहरूमा नेपाली कर्मचारीहरूलाई तालिम दिने कार्यक्रम पनि चलाइनेछ। नेपाल सरकारको अनुरोधमा, भारतले खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा प्राविधिक सहायता पनि उपलब्ध गराउनेछ।

खानेपानी, सरसफाइ र फोहोर व्यवस्थापनका क्षेत्रमा दुई देश बीच भएको सम्झौताले अध्ययन, अनुसन्धान, विकास परियोजनासम्बन्धी जानकारी आदानप्रदान, तालिम, क्षमता विकास र आदानप्रदान कार्यक्रमहरू सञ्चालन गर्ने अवसर प्रदान गर्ने खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. राम कुमार श्रेष्ठले बताए।

भारतको राजधानी नयाँ दिल्लीस्थित जलशक्ति मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादव र भारतका जलशक्ति मन्त्री सिआर पटिलले यस सम्झौतामा हस्ताक्षर गरेका छन्।

दुवै देशले मैत्रीपूर्ण सहकार्यलाई प्रोत्साहित गर्दै स्वच्छता क्षेत्रमा अन्तरसरकारी सहकार्यलाई सुदृढ पार्ने, नेपालमा सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्ने र जनताको जीवनस्तर सुधार गर्ने उद्देश्यले यस सम्झौतामा सहमति जनाएका छन्।

तपाईको प्रतिक्रिया