स्पेनको सेभियामा ‘विकासका लागि वित्त’ अन्तर्राष्ट्रिय सम्मेलन सुरु, प्रधानमन्त्री ओली सहभागी

सेभिया, स्पेन । संयुक्त राष्ट्रसंघको आयोजना र स्पेन सरकारको आतिथ्यतामा स्पेनको सेभिया शहरमा ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन (एफएफडी–४) सोमबारदेखि सुरु भएको छ। सम्मेलन सेभियास्थित फेबिस प्रदर्शनी केन्द्रमा भइरहेको छ।

उद्घाटन समारोहमा स्पेनका राजा फिलिप द्वितीय, प्रधानमन्त्री पेड्रो सान्चेज र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्मेलनको औपचारिक सुरुवात गर्दै सम्बोधन गरेका थिए। सम्मेलनमा विश्वभरका राष्ट्रप्रमुख, सरकार प्रमुख, अन्तर्राष्ट्रिय संस्था, वित्तीय क्षेत्र, व्यवसायी, नागरिक समाज तथा संयुक्त राष्ट्रसंघ प्रणालीका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको छ।

नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली सम्मेलनमा सहभागी छन्। प्रधानमन्त्री ओलीसँगै उनका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापा र शिष्टाचार महापाल कुमारराज खरेल सहभागी छन्।

प्रधानमन्त्री ओलीको यो भ्रमण राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेस र स्पेनका प्रधानमन्त्री सान्चेजको मैत्रीपूर्ण निमन्त्रणामा भएको हो। सम्मेलनमा नेपालले अल्पविकसित, साना तथा द्वीपीय मुलुकहरूको तर्फबाट प्रतिनिधित्व गर्दै ती देशहरूको हितमा आवाज उठाउने अपेक्षा गरिएको छ।

सम्मेलनमा सन् २०३० सम्मका लागि तय गरिएका दिगो विकास लक्ष्य (SDGs) हासिल गर्न आवश्यक अन्तर्राष्ट्रिय वित्तीय संरचना, विकास सहयोगको कार्यान्वयन, प्रविधि हस्तान्तरण तथा लगानी सुनिश्चितता जस्ता विषयमा विशेष छलफल हुँदैछ।

यस सम्मेलनमार्फत विश्वव्यापी वित्तीय प्रणालीको सुधार र दिगो विकासका लागि आवश्यक सहयोग तथा लगानी जुटाउने दीर्घकालीन कार्यदिशा तय हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया