सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम ४ अर्बमा सीमित


काठमाडौं।साताको दोस्रो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य गिरावटसहित बन्द भएको छ। अघिल्लो दिन आइतबार २६.५१ अंकले घटेको परिसूचक आज ४.२८ अंकले घटेर २६४५.२४ विन्दुमा अडिएको छ। यसैगरी, सेन्सेटिभ इण्डेक्स १.७२ अंकले घटेर ४५५.२६ विन्दुमा पुगेको छ।

नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ। आइतबार ७ अर्बभन्दा बढीको सेयर कारोबार भएकोमा सोमबार ४ अर्बमा सीमित भएको छ। ३२५ स्टकको कुल १ करोड ८ लाख ६० हजार ८२८ कित्ता सेयर ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार ५८० रुपैयाँमा खरिदबिक्री भएको छ।

बजार सामान्य गिरावटमा भए पनि चार कम्पनीको सेयर सकारात्मक सर्किटमा कारोबार भएको छ। सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगर एग्रेटेक इन्डष्ट्रिजका सेयर सकारात्मक सर्किटमा पुगेका हुन्। ग्रिन भेन्चर्सको सेयर मूल्य ९.३१ प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा युनाइटेड मोदी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो, जसको सेयर कारोबार २७ करोड रुपैयाँ बराबरको भयो। हिमालयन रिइन्स्योरेन्स १५ करोड, बन्दिपुर केबलकार एण्ड टुरिजम १४ करोड, नेपाल रिइन्स्योरेन्स १३ करोड र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट १२ करोड रुपैयाँ बराबरको कारोबार गरेका छन्।

१२४ वटा स्टकको मूल्य बढ्दा १२६ वटाको घटेको छ, जबकि ८ वटा स्थिर रहेका छन्। उपसमूहको प्रदर्शनमा पाँच समूहको उपसूचक बढ्दा आठ समूहको नकारात्मक देखिएको छ। डेभलपमेन्ट बैंक, फाइनान्स, हाइड्रोपावर, म्यानु एण्ड प्रो र माइक्रोफाइनान्स समूहको उपसूचक सकारात्मक रह्यो।

तपाईको प्रतिक्रिया