सेयर बजारमा गिरावट, अधिकांश स्टक्स राताम्य


काठमाडौं, —साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आइतबार उल्लेख्य वृद्धि देखिएको नेप्से परिसूचक सोमबार १०.८९ अंकले घट्दै २६२२.५३ विन्दुमा झरेको हो।

नेप्से परिसूचकसँगै यस दिनको कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको देखिएको छ। सोमबार ३३७ कम्पनीका १ करोड ३७ हजारभन्दा बढी कित्ता सेयर ४ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीमा खरिद–बिक्री भएको छ। आइतबार भने ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।

कारोबारमा सहभागी स्टक्समध्ये ८५ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यस दिन एसवाइ प्यानल नेपालको सेयर मूल्य उच्च वृद्धि हुँदै सकारात्मक सर्किट लेभलमा कारोबार भएको देखियो। यता, विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने सबैभन्दा धेरै घटेको छ। उक्त कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले ओरालो लागेको हो।

कारोबार रकमका आधारमा एसवाइ प्यानल शीर्ष स्थानमा रहँदै करिब २३ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ। त्यसपछि मञ्जुश्री फाइनान्स, शिवम् सिमेन्ट, नगदी ग्रुप पावर र हिमालयन रिइन्स्योरेन्स क्रमशः उच्च कारोबार गर्ने कम्पनीहरूमा परेका छन्।

समूहगत सूचकतर्फ हेर्दा डेभलपमेन्ट बैंक र म्युचुअल फण्ड समूहबाहेक अन्य अधिकांश समूहका उपसूचक नकारात्मक देखिएका छन्। कुल १३ समूहमध्ये ११ समूहमा गिरावट देखिएको छ।

तपाईको प्रतिक्रिया