सूचना प्रविधिसँगै हुलाक सेवा समयानुकूल बनाउँदै लैजानु अत्यावश्यक: सञ्चारमन्त्री खरेल

काठमाडौँ, – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचना र सञ्चार प्रविधिको तीव्र विकाससँगै परम्परागत हुलाक सेवालाई समयानुकूल आधुनिक, प्रतिस्पर्धी र व्यावसायिक बनाउनु अपरिहार्य रहेको बताएका छन्।

१५१ औँ हुलाक दिवस २०८१ को अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री खरेलले वर्तमान प्रविधिको युगमा हुलाक सेवाले आफ्नो स्वरूप विस्तार गर्दै व्यापारिक तथा व्यावसायिक सेवातर्फ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

उनले भने, “हुलाक सेवा विगतदेखि नै भरपर्दो सञ्चारको माध्यम रहँदै आएको भए पनि प्रविधिको विकाससँगै यो सेवा ओझेलमा पर्दै गएको छ। अब यसलाई पुनर्जीवित गर्दै सबै स्थानीय तहमा पुग्ने गरी पुनर्संरचना गरिनुपर्छ।”

सञ्चार सचिव राधिका अर्यालले पनि सरकारले हुलाक सेवा क्षेत्रलाई ‘स्मार्ट हुलाक’ बनाउने नीति अवलम्बन गरेको जानकारी दिइन्। उनले हुलाक पूर्वाधारलाई डिजिटल व्यापारसँग जोड्ने योजना अघि बढिसकेको बताइन्।

हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले हुलाक सेवा नेपालको सङ्घीय संरचनाअनुसार पुनःव्यवस्थित भई सबै स्थानीय तहमा सञ्जाल विस्तार गरिएको जानकारी दिइन्। उनले संकटका समयमा हुलाक कर्मचारीले खेलेको भूमिका स्मरणीय रहेको र समुदायको संरक्षणले पनि सेवा जोगाउन महत्वपूर्ण योगदान दिएको उल्लेख गरिन्।

“संकटकालमा हुलाककर्मीले ज्यान जोखिममा पारेर सेवा पु-याएका उदाहरणहरू इतिहासले सँधै सम्झिरहनेछ,” उनले भनिन्।

‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ भन्ने नारासहित आज विश्वका विभिन्न देशहरूमा विश्व हुलाक दिवस मनाइँदैछ। यो दिवस सन् १८७४ मा स्विजरल्याण्डको बर्न शहरमा स्थापना भएको ‘विश्व हुलाक सङ्घ’ को वार्षिकोत्सवको रूपमा मनाइन्छ। सन् १९६९ मा जापानको टोकियोमा भएको महासभाले यो दिवस औपचारिक रूपमा घोषणा गरेको हो।

यस अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले हुलाक सेवा सहरी तथा ग्रामीण क्षेत्रमा सन्देश र सेवा पुर्‍याउने माध्यम भएको र यसले विश्वभर सम्पर्क विस्तार गरेको बताएका छन्।

तपाईको प्रतिक्रिया