सुशासन, भ्रष्टाचार अन्त्य र समयमै निर्वाचन— सरकारको प्रमुख म्यान्डेट : सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेल

तस्बिरः रासस

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले वर्तमान सरकार जेनजी आन्दोलनको जग र सबै राजनीतिक दल तथा जनताको चाहनाबाट बनेको उल्लेख गर्दै, सरकारको मुख्य दायित्व निर्धारित समयमै प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन्।

राससको भद्रकालीस्थित केन्द्रीय कार्यालयमा बुधबारको निरीक्षणपछि आयोजित कार्यक्रममा मन्त्री खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीमा सबै पक्षसँग सहकार्य गर्न आग्रह गरे। उनले प्रधानमन्त्री सुशीला कार्कीले पनि निर्वाचनको प्रतिवद्धता जनाइसकेको स्पष्ट पार्दै, निर्वाचनको वातावरण निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे।

उनले भने, “जेनजी आन्दोलनको पृष्ठभूमिमा बनेको यो सरकार सबै दल र जनताको सहमतिको उपज हो। निर्वाचनमा जानु सबैको साझा चाहना हो। निर्वाचन आयोगले तालिका सार्वजनिक गरिसकेको छ र राससजस्तो संस्थाले वातावरण बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।”

प्रवक्ता खरेलका अनुसार, सरकारले केवल निर्वाचन सम्पन्न गर्ने मात्र होइन, सुशासन कायम राख्ने, भ्रष्टाचारको अन्त्य गर्ने, आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिन तथा कारबाही गर्ने, साथै प्राकृतिक विपद्‌पछिको राहत तथा पुनःस्थापनाको कार्यसमेत जिम्मेवारीका रूपमा बोक्नेछ।

उनले आसन्न निर्वाचनको सन्दर्भमा विभिन्न राजनीतिक दलहरूसँग प्रत्यक्ष तथा अप्रत्यक्ष संवाद भइरहेको पनि जानकारी दिए।

तपाईको प्रतिक्रिया