सुनील पौडेलसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, जनही ३३ करोड बिगो दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेलसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। बिलिङ सिस्टम अपग्रेड गर्ने क्रममा उनीहरूले कुल ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मुद्दा दायर गरिएका व्यक्तिहरूमा नेपाल टेलिकमकी तत्कालीन प्रमुख व्यावसायिक अधिकृत संगिता पहाडी (हाल प्रबन्ध निर्देशक), प्रमुख प्राविधिक अधिकृत प्रतिभा वैद्य (प्रतिभा श्रेष्ठ), प्रमुख वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत झवन्द्रलाल उपाध्याय, निर्देशक विनिता श्रेष्ठ, निमित्त निर्देशक अमूल प्रधान, प्रबन्धक देवेन्द्र खतिवडा, उपप्रबन्धक राजीवकुमार केसी लगायतका अधिकारीहरू छन्।

साथै, तत्कालीन उपप्रबन्धक सन्तोषकुमार श्रेष्ठ, नवल चौधरी, मुक्तिप्रसाद अर्याल, हेमप्रभा कर्ण, र उपप्रबन्धक परमात्मा भट्टराईमाथि पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियारले चीनको एसिया इन्फो युङहाङ सफ्टवेयर (बेइजिङ) कम्पनीका वरिष्ठ निर्देशक लङ योङ, काठमाडौंस्थित कार्यालयका तत्कालीन आयोजना प्रबन्धक हुयाङ वी र नेपाल एजेन्ट शैलेस श्रेष्ठविरुद्ध पनि मुद्दा दायर गरेको छ।

नेपाल टेलिकमको बिलिङ सिस्टम एकिकृत गर्ने सम्झौता २०७८ पुस ६ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र एसिया इन्फो युङहाङ सफ्टवेयरबीच भएको थियो। यो सम्झौता ‘कन्भरजेन्ट रियल–टाइम बिलिङ एन्ड कस्टमर सपोर्ट (सीआरटीबी एन्ड सीएस) बिलिङ प्रणाली’ खरिद सम्बन्धी थियो।

नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल, फाइबर, इन्टरनेट, लिज्ड लाइन, वाइरलाइन/वायरलेस ब्रान्डब्यान्ड लगायतका सेवा बिलिङका लागि विभिन्न प्लेटफर्मबाट विद्युतीय माध्यम प्रयोग गर्दै आएको थियो। नयाँ बिलिङ प्रणालीले ती सबै प्लेटफर्मलाई एउटै सिस्टममा एकीकृत गरी रियल–टाइम शुल्क गणना र अपडेट गर्ने लक्ष्य राखिएको थियो।

अख्तियारको अनुसन्धानमा उक्त सम्झौतामा करिब ३३ करोड ४८ लाख रुपैयाँभन्दा बढी रकममा भ्रष्टाचार भएको पुष्टि भएको छ।

अख्तियारले मुद्दा दायर गर्दै प्रत्येक अभियुक्तसँग सोही रकम बिगो (हानि भरपाई) माग गरेको छ।

तपाईको प्रतिक्रिया