सुनसरीमा ५ हजार केजी गाँजा बरामद, तस्कर फरार


सुनसरी । इटहरी उपमहानगरपालिका–५ स्थित पूर्व–पश्चिम लोकमार्गबाट सशस्त्र प्रहरीले ५ हजार केजी प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको छ।

शनिबार राति विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी, पकलीबाट खटिएको २१ सदस्यीय टोलीले सशस्त्र प्रहरी निरीक्षक अशोक न्यौपानेको कमाण्डमा उक्त गाँजा फेला पारेको हो।

सशस्त्र प्रहरीका अनुसार, गस्तीका क्रममा ना ४ ख २७११ नम्बरको ट्रक र बा ५ ख १९६९ नम्बरको मिनी ट्रक नियन्त्रणमा लिएर जाँच गर्दा ट्रकमा १३४ बोरा र मिनी ट्रकमा २४ बोरा गरी जम्मा ५ हजार केजी गाँजा बरामद गरिएको हो।

कोशी प्रदेशका सशस्त्र प्रहरी प्रमुख डीआईजी कुमार न्यौपानेले जेनजी आन्दोलनका कारण देशभर लागू भएको कर्फ्यु र निषेधाज्ञाको अवसर छोपेर तस्करहरूले धनकुटाबाट गाँजा भारततर्फ लैजान खोजेको जानकारी दिए। तर, सशस्त्र प्रहरीको सतर्कताले गाँजाको ठुलो परिमाण भारत जानबाट रोकिएको हो।

बरामद गर्ने क्रममा दुवै सवारीसाधनका चालक तथा अन्य संलग्न व्यक्ति फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। डीआईजी न्यौपानेका अनुसार बरामद गाँजा र सवारीसाधन जिल्ला प्रहरी कार्यालय, सुनसरीमा आवश्यक कारबाहीका लागि बुझाइएको छ।

तपाईको प्रतिक्रिया