सुनचाँदी व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह : “संवादको बाटो रोज्नुस्, आन्दोलनमा नलाग्नुस्”


काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले सुनचाँदी क्षेत्रसँग सम्बद्ध व्यवसायीहरूलाई आन्दोलनको बाटो नअपनाउन आग्रह गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार भेट गर्न पुगेको सुनचाँदी व्यवसायीहरूको प्रतिनिधिमण्डललाई प्रधानमन्त्री ओलीले समस्याको समाधान संवादमार्फत खोज्न सुझाव दिएका हुन्।

भेटमा प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालयसँग आवश्यक छलफल गरी यथासम्भव व्यवसायीका जायज मागहरू सम्बोधन गर्न आफू तयार रहेको उल्लेख गर्दै, “संवेदनशील विषयमा आन्दोलन होइन, संवादमार्फत सहमति खोज्नुपर्छ” भन्ने सन्देश दिएका थिए।

सुनचाँदी व्यवसायीहरूले आगामी आर्थिक वर्षको बजेटमा सुनचाँदी कारोबारमा प्रस्ताव गरिएको दुई प्रतिशत विलासिता करप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराएका थिए।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनार, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइली, र नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष सुमनमान ताम्राकारसहितको टोलीले उक्त कर व्यवस्थाले व्यवसाय धराशायी हुने खतरा रहेको भन्दै पुनः विचार गर्न आग्रह गरेका हुन्।

व्यवसायीहरूले कर तथा भन्सार दर छिमेकी भारतको तुलनामा बढी हुँदा नेपाली व्यवसायले प्रतिस्पर्धा गर्न नसक्ने स्थिति आएको बताउँदै, सरकारको प्रस्ताव यथास्थितिमा लागू भए आफूहरूलाई आन्दोलनमा जानु बाहेक विकल्प नरहने चेतावनीसमेत दिएका छन्।

तपाईको प्रतिक्रिया