सुन खरिदमा कर नलगाउन माग सांसद प्रकाशशरण महतको

काठमाडौं — नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले उपभोक्ताले खरिद गर्ने सुनमा कर नलगाउन सरकारलाई आग्रह गरेका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बोल्दै सांसद महतले सीमा नतोकिकन भन्सार तिरेर सुन ल्याउन दिने व्यवस्था मिलाउनुपर्ने बताएका हुन्। उनले सुनलाई विलासिताको वस्तु ठानिँदै आएको भए पनि आजको सन्दर्भमा त्यो उपयुक्त नहुने बताए।

“सुन अब विलासिता होइन, जनताको आवश्यकता हो,” उनले भने, “उपभोक्तालाई सिधा असर पर्ने गरी कर लगाउनु उपयुक्त हुँदैन।”

महतले आयातित तयारी वस्तुमा बढी कर लगाएर स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउनु पर्ने धारणा राखे। साथै, घरेलु उत्पादनहरूलाई मूल्य अभिवृद्धि कर (भ्याट) को दायरामा ल्याउनुपर्ने पनि उनको भनाइ थियो।

त्यसैगरी, दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) अन्तर्गत दिइँदै आएको भन्सार छुटबारे पनि महतले पुनर्विचार आवश्यक रहेको उल्लेख गरे। उनले स्वदेशी उद्योग संरक्षणका लागि यस्तो छुट आवश्यक नरहेको तर्क गरे।

तपाईको प्रतिक्रिया