सुधन गुरुङको भविष्य के होला? छानबिन प्रतिवेदन सरकारको हातमा,

काठमाडौं, जेठ २२ — पूर्व गृहमन्त्री सुधन गुरुङ माथि उठेका आरोपहरूको छानबिन गर्न गठन गरिएको समितिले आफ्नो अनुसन्धान प्रतिवेदन सरकारलाई बुझाएको छ। समितिका संयोजक अच्युतप्रसाद भण्डारी ले ४५ पृष्ठ लामो प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश गरिएको जानकारी दिएका छन्।

समितिले प्रतिवेदन तयार गर्ने क्रममा गुरुङसँग बयान लिएको, उनीमाथि सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूको अध्ययन गरेको तथा सम्पत्ति विवरण र सम्बन्धित कागजातहरू समेत केलाएको जनाएको छ। अब प्रतिवेदनमाथि आवश्यक निर्णय र प्रक्रिया सरकारको तहबाट अघि बढ्ने बताइएको छ। सरकारले गत वैशाख अन्त्यतिर पूर्व उच्च अदालतका न्यायाधीश भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य थिए। गुरुङमाथि व्यवसायी दीपक भट्ट सँग सम्बन्धित कम्पनीमा सेयर लगानी गरेको, सम्पत्ति विवरणमा केही विवरण नखुलाएको तथा विवादास्पद व्यावसायिक सम्बन्धबारे प्रश्न उठेपछि राजनीतिक दबाब बढेको थियो। त्यसपछि उनले पदभन्दा नैतिकतालाई प्राथमिकता दिएको उल्लेख गर्दै गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। छानबिन प्रतिवेदन सार्वजनिक भइसकेको छैन। त्यसैले समितिले गुरुङलाई दोषी वा निर्दोष ठहर गरेको विषय हालसम्म खुलाइएको छैन। प्रतिवेदन अध्ययनपछि सरकारले आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया