सुदूरपश्चिममा रोकिएको वन कार्यविधि एक महिनाभित्र लागू गर्ने मुख्यमन्त्री शाहको घोषणा

गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले रोकिएको वन कार्यविधि प्रदेश सरकारले एक महिनाभित्र लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सरोकारवालासँग भएको बैठकमा बोल्दै मुख्यमन्त्री शाहले दिगो वन व्यवस्थापनसँगै सामुदायिक वनका समस्या समाधानका लागि तत्काल काम सुरु गरिने बताए।

उनका अनुसार वन क्षेत्रको सुधार र समस्याको समाधानका उद्देश्यले गठन गरिएको १३ सदस्यीय कार्यदलले तयार पारेको सकारात्मक प्रतिवेदनलाई अब कार्यान्वयनतर्फ लैजाने योजना सरकारको छ। उनले सुशासन र भ्रष्टाचार नियन्त्रणमा कुनै किसिमको सम्झौता नहुने स्पष्ट गरे।

मुख्यमन्त्री शाहले वन क्षेत्रमा देखिएका विभिन्न चुनौतीलाई सम्बोधन गर्न कार्यविधि नै मुख्य उपाय हुने उल्लेख गर्दै प्रदेश सरकार त्यसका लागि पूर्ण रूपमा तयार रहेको बताए।

बैठकले प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा १३ सदस्यीय सुझाव सङ्कलन समिति गठन गर्ने निर्णय पनि गरेको छ।

यसअघि वन उपभोक्ता समितिका प्रतिनिधिहरूले २५ बुँदे माग राख्दै सुदूरपश्चिम प्रदेशस्तरीय आन्दोलन परिचालन समन्वय समितिमार्फत प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका थिए।

तपाईको प्रतिक्रिया