सुदूरपश्चिमका मुख्यमन्त्री शाहले प्रदेश सभाबाट विश्वासको मत पाए

धनगढी, — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। हाल ५२ सदस्य रहेको प्रदेश सभामध्ये ३० सांसदले मुख्यमन्त्री शाहको पक्षमा मत दिएका हुन्। विश्वासको मतका लागि न्यूनतम २७ मत आवश्यक थियो।

मुख्यमन्त्री शाहलाई नेपाली कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका एक सांसदले समर्थन गरेका हुन्।

प्रदेश सभामा प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका १०, एकीकृत समाजवादीका ३, राप्रपाका १ र एक स्वतन्त्र सांसदले विरोधमा मतदान गरेका छन्।

नागरिक उन्मुक्तिका ७ सांसदमध्ये ६ जना बैठकमा अनुपस्थित रहे भने एकजना सांसद निलम्बनमा छन्। गत २० असारमा नागरिक उन्मुक्ति पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह विश्वासको मत लिन बाध्य भएका थिए।

तर, उक्त पार्टीकै रञ्जिता श्रेष्ठनिकट सांसद कैलाश चौधरीले भने मुख्यमन्त्रीको पक्षमा मत दिएका छन्। नागरिक उन्मुक्तिका संसदीय दलका नेता घनश्याम चौधरीसहित अधिकांश सांसदहरू पार्टीको राष्ट्रिय भेलाका लागि काठमाडौँमा रहेकाले बैठकमा उपस्थित हुन सकेनन्।

दलका नेता चौधरीका अनुसार संसदीय दलले विश्वासको मतको पक्ष वा विपक्षमा मतदान गर्न कुनै ह्विप जारी गरेको थिएन।

तपाईको प्रतिक्रिया