सिमरामा क्षेत्र दिउँसो १ बजेदेखि साँझ ८ बजेसम्म कर्फ्यू आदेश जारी 

फाइल तस्बिर ।

बारा : आज पनि बारा जिल्लामा सिमरा क्षेत्र तनावग्रस्त बनेको छ। प्रशासनले सम्भावित क्षति रोक्नका लागि दिउँसो १ बजेदेखि साँझ ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय बाराका अनुसार दिउँसो १ बजेदेखि राति ८ बजेसम्म कर्फ्यू लागु रहने छ। कर्फ्यू क्षेत्र सिमरालाई केन्द्र मानी उत्तरतर्फ पथलैयासम्म र दक्षिणतर्फ जितपुरको लालका पुलसम्म जारी गरिएकाे छ ।

जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार बुधबार सिमरा चोकमा जेनजी समूहका युवाहरू र नेकपा (एमाले) का कार्यकर्ताबिच भएको झडपपछि स्थिति तनावपूर्ण बनेको थियो । सोही घटनालाई लिएर थप अशान्ति फैलिन नदिने उद्देश्यले आज पनि कर्फ्यू आदेश जारी गरिएको प्रशासनले स्पष्ट पारेको उहाँले बताउनुभयो।

झडपका क्रममा सामान्य हाताहात र ढुङ्गामुढा चलेको छ । घटनाबारे अनुसन्धान अगाडि बढाउँदै जिल्ला प्रहरी कार्यालय बाराले दुई जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीले थप संलग्नताका आधारमा अन्य व्यक्तिहरूलाई पनि खोजी भइरहेको जानकारी दिएको छ।

सुरक्षा निकायले घटनास्थल आसपासमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ। स्थानीयवासीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको छ । प्रशासनले शान्ति-सुरक्षा कायम राख्न सबैलाई संयमित रहन र सहयोग पुर्‍याउन आग्रह गरेको छ।

यसैगरी हिजो भएको घटनामा बारा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका-२ का ४० वर्षीय धनबहादुर श्रेष्ठ र सोही ठाँउ वडा ६ का ३४ वर्षीय कैमुद्दिन अन्सारी रहेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय सिमरामा दर्ता भएको किटानी जाहेरीका आधारमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “किटानी जाहेरी दर्ता गराउने सम्राट उपाध्यायले आफूलाई नियोजित रूपमा लक्षित गरी आक्रमण गरिएको दाबी गरेका छन् ।” जाहेरी दर्ता भएपछि प्रहरीले प्रारम्भिक बयान लगायत आवश्यक प्रक्रिया अघि बढाइएको बारा प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया