सिद्धार्थनगर नगरपालिकाले जथाभावी चौपाया छोड्नेलाई ७ हजार रुपैयाँ जरिवाना तिराउने

रूपन्देही – सिद्धार्थनगर नगरपालिकाले आफ्ना चौपाया जथाभावी छोड्ने मालिकलाई ७ हजार रुपैयाँ जरिवाना लागू गर्ने निर्णय गरेको छ। नगरमा छाडा गाई, बाख्रा, र अन्य चौपायाको संख्या बढ्न थालेपछि, पालिकाले यी चौपायालाई नियन्त्रणमा लिनका लागि गत सातादेखि विशेष अभियान सुरु गरेको हो।

अभियानअन्तर्गत, बिहीबारसम्म ७८ वटा गाईबस्तुको व्यवस्थापन गरिएको छ। त्यसमध्ये, छाडा चौपायाका मालिकले आफ्नो अधिकार दाबी गरेपछि उनीहरूलाई ७ हजार रुपैयाँ जरिवाना गरेर गाईबस्तु जिम्मा लगाइएको नगरपालिकाका प्रवक्ता मुक्तिनाथ यादवले जानकारी दिए।

नगरपालिकाले छाडा चौपायालाई अस्थायी होल्डिङ सेन्टरमा राखेर, पछि कपिलवस्तुको वांणगगा नगरपालिका वडा नम्बर २ स्थित गौशालामा पठाएको छ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले छाडा चौपायाले सडक दुर्घटनाको जोखिम बढाउने, किसानका कृषि उत्पादनमा क्षति पुर्याउने, र नगरलाई दुर्गन्धित बनाउने समस्याहरु ल्याएको बताएका छन्। यसकारण नगरमा यो व्यवस्थापन अभियानलाई प्राथमिकतामा राखिएको छ।

तपाईको प्रतिक्रिया