सामुदायिक विद्यालयको गुणस्तरमा सुधारको प्रयासहरूमा सफलता पाइरहेका छौं: उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री र सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफ्ना निर्वाचन क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूको स्तर सुधारका लागि गरेको प्रयासको सकारात्मक परिणाम देखिन थालेको बताएका छन्। उनले सरकारको प्राथमिकता सामुदायिक विद्यालयका भौतिक संरचना र शैक्षिक गुणस्तरलाई सुधार गर्नु रहेको पनि उल्लेख गरे।

सोमबार पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयको ७७औं वार्षिकोत्सवमा उपप्रधानमन्त्री सिंहले काठमाडौं क्षेत्र नम्बर १ मा रहेका सामुदायिक विद्यालयहरूले अब गुणस्तरीय शिक्षा दिन सफल भएकोमा खुशी व्यक्त गरे।

विसं २०६४ देखि काठमाडौं १ बाट निर्वाचित भएपछि उनले सामुदायिक विद्यालयका भौतिक संरचना र शैक्षिक गुणस्तर सुधारमा जोड दिइरहेको बताए। “काठमाडौं-१ का सबै सामुदायिक विद्यालयहरूको स्तर सुधार गर्न हामी तीनै तहका सरकारसँग मिलेर काम गर्दै आएका छौं। यहाँका विद्यालयहरू निजी विद्यालयको तुलनामा कुनै कम छैनन्। नतिजा राम्रो आउँदा खुशी लागेको छ,” उनले भने।

उपप्रधानमन्त्री सिंहले जनप्रतिनिधिका रूपमा सामुदायिक विद्यालयलाई अझ प्रभावकारी बनाउन आफू प्रतिबद्ध रहेको र विद्यार्थीहरूले अतिरिक्त क्रियाकलापहरूमा पनि राम्रो प्रदर्शन गरिरहेको बताए। उनले विद्यालयको सुधारमा संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूले मिलेर काम गरिरहेको पनि जोड दिए।

तपाईको प्रतिक्रिया