सामाजिक सञ्जाल दर्ता नभए प्रतिबन्ध लगाउँछौँ : सञ्चारमन्त्री गुरुङ

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालमा समाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्तिहरू दिने प्लेटफर्महरूमा कारबाही गर्नका लागि नयाँ विधेयक ल्याइएको जानकारी दिएका छन्। मंगलबार नेपाल टेलिकमको वार्षिकोत्सवको अवसरमा मन्त्री गुरुङले सामाजिक सञ्जालमा अराजकता बढिरहेको र त्यसलाई नियन्त्रण गर्नका लागि नागरिकहरूको मागअनुसार विधेयक तयार गरिएको बताए।

मन्त्री गुरुङले भने, “सामाजिक सञ्जालको प्रयोग र सञ्चालनलाई नियमीत गर्नुपर्ने समय आएको छ। हामीले विधेयक ल्याएको छ, जसको विरोध केही मात्रामा सुरु भएको छ। लोकतन्त्रमा विरोध हुनु स्वाभाविक हो।”

उनले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्तिहरूलाई देशद्रोहको रूपमा लिँदै, त्यस्ता व्यक्तिहरूलाई कडाइका साथ दण्ड दिइने प्रावधान राखिएको जानकारी दिए। साथै, साइबर अपराधको बढ्दो घटनालाई नियमन गर्न साइबर क्राइम नियन्त्रण ऐनको मस्यौदा तयारीमा रहेको उल्लेख गरे।

मन्त्री गुरुङले भने, “कोही पनि सामाजिक सञ्जाल दर्ता नगरेको खण्डमा त्यो प्लेटफर्ममा प्रतिबन्ध लगाइनेछ।” अहिले नेपालमा दर्ता भइ सञ्चालनमा रहेका सामाजिक सञ्जालमध्ये केवल टिकटक मात्रै छ, र अन्य प्लेटफर्महरू जस्तै फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपलाई दर्ताका लागि सार्वजनिक आह्वान गरिएको छ।

“टिकटकसँग हामीले स्पष्ट रूपमा भनेका छौं कि उनीहरूले हाम्रो देशको पर्यटनमा योगदान पुर्याउनुपर्छ, र यो काम गर्दैछ। यसका अतिरिक्त मेटा, फेसबुक र इन्स्टाग्रामजस्ता प्लेटफर्महरूले हाम्रो स्वास्थ्य, उद्योग र साँचो गभर्नेन्समा सहयोग गर्नुपर्छ,” उनले भने।

मन्त्री गुरुङले दर्ता गरिएका सामाजिक सञ्जालहरूको सञ्चालनमा सहज वातावरण सृजना गर्न सरकार तयार रहेको बताए।

तपाईको प्रतिक्रिया