सरकार नबनेपछि संसद् विघटन अपरिहार्य भयो :राष्ट्रपति पौडेल

काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट वैधानिक रूपमा सरकार गठनको कुनै विकल्प नदेखिएपछि संविधानसम्मत रूपमा संसद् विघटन गरिएको स्पष्ट पारेका छन्। संविधान दिवसको अवसरमा राष्ट्रपति निवास शीतल निवासमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

राष्ट्रपति पौडेलले मुलुक फेरि परिवर्तनको नयाँ यात्रामा प्रवेश गरेको उल्लेख गर्दै, नयाँ जनादेशले लोकतन्त्रलाई संस्थागत गर्दै मुलुकको आगामी दिशा तय गर्ने विश्वास व्यक्त गरे।

उनका अनुसार, अहिलेको अन्तरिम सरकारको मुख्य कार्य हो— राष्ट्रले जेनजी आन्दोलनका क्रममा व्यहोरेको क्षतिको पुनर्निर्माण गर्दै आगामी ६ महिनाभित्र निष्पक्ष र समावेशी निर्वाचन सम्पन्न गर्नु। साथै, निर्वाचनपछि जनप्रतिनिधिमार्फत सत्ता शान्तिपूर्ण ढंगले हस्तान्तरण गर्नुपर्ने उनले बताए।

राष्ट्रपतिले राजनीतिक दल, शासन प्रणालीसँग सम्बन्धित निकायहरू र बौद्धिक समुदायलाई आग्रह गर्दै भने, “असहमति र द्वन्द्व होइन, समन्वय र सहकार्यको भावनासहित निर्वाचन सफल पार्न सबै लागिपर्न जरुरी छ।”

उनले लोकतन्त्र हरेक पुस्ताको सहभागिताले सुदृढ हुने विश्वास व्यक्त गर्दै, आफ्नो व्यक्तिगत अनुभव पनि सुनाए। “१७ वर्षको कलिलो उमेरमा २०१७ सालमा प्रजातन्त्रका लागि राजनीतिमा लागेको थिएँ। आज परिस्थिति यस्तो आयो कि भदौ २४ पछि उत्पन्न राजनीतिक जटिलता र रिक्तता सम्हाल्ने जिम्मेवारी मेरै काँधमा आयो।”

राष्ट्रपतिका अनुसार, सबैको सहयोग र सुझबुझका कारण तत्कालीन कठिन परिस्थिति नियन्त्रणमा ल्याउन सकिएको हो। संविधान र लोकतन्त्रको भावना, नवपुस्ताको परिवर्तनको सपना र जनचाहनालाई ध्यानमा राख्दै उपलब्ध सम्भावनाभित्र सरकारले आवश्यक कदम चालेको उनले स्पष्ट पारे।

समापनमा उनले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै, पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गरे।

तपाईको प्रतिक्रिया