सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस नेता गणेश लामालाई सर्वोच्चबाट सफाइ

काठमाडौं — नेपाली कांग्रेसका केन्द्रीय कार्यसमिति सदस्य गणेश लामाले सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएका छन्।

सर्वोच्च अदालतको न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले सोमबार विशेष अदालतको दोषी ठहर गर्ने फैसला उल्ट्याउँदै लामालाई सफाइ दिने निर्णय सुनाएको हो।

२०७५ साउन २४ गते, विशेष अदालतका तत्कालीन न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले लामालाई एक वर्ष कैद, एक करोड ४० लाख ५० हजार रुपैयाँ जरिवाना र सम्पत्ति जफत गर्ने फैसला गरेको थियो।

उक्त फैसलाविरुद्ध लामाले २०७५ कात्तिक ९ गते सर्वोच्चमा पुनरावेदन गरेका थिए। नेपाल सरकारले पनि पुस ९ गते पुनरावेदन दर्ता गरेको थियो।

सर्वोच्च अदालतको वेबसाइटअनुसार, लामा पक्षको पुनरावेदनमा ‘उल्टी’ अर्थात् फैसला उल्टाइएको उल्लेख गरिएको छ। उता सरकार पक्षको पुनरावेदनमा भने ‘जिकिर नपुग्ने’ अर्थात् अपूरो आधारमा मुद्दा टुंगिएको उल्लेख छ।

२०७० जेठ ५ गते, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गणेश लामाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। लामो समयसम्म चलिरहेको सो मुद्दामा अन्ततः सर्वोच्च अदालतले लामालाई सफाइ दिएको हो।

गणेश लामा हाल नेपाली कांग्रेसका केन्द्रीय कार्यसमिति सदस्य हुन्।

तपाईको प्रतिक्रिया