समृद्ध नेपालको जिम्मेवारी अब युवाको काँधमा : राष्ट्रपति पौडेल

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर समृद्ध नेपाल निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी अब युवाहरूको काँधमा आएको बताएका छन्।

अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को अवसरमा राष्ट्रिय युवा परिषद्ले काठमाडौंमा आयोजना गरेको मूल समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले युवाहरू समृद्ध राष्ट्र निर्माणको युगीन जिम्मेवारी बहन गर्न सक्षम भइसकेको विश्वास व्यक्त गरे।

उहाँले भन्नुभयो, “हामीले आफ्नो युवावस्था लोकतान्त्रिक आन्दोलन र संघीय गणतान्त्रिक व्यवस्था स्थापनामा समर्पित गर्‍यौं। अब देशलाई समृद्ध बनाउने सपना साकार पार्ने दायित्व नयाँ पुस्ताको हो।”

राष्ट्रपति पौडेलले नेपाली युवाहरूले प्रविधि, नवप्रवर्तन, खेलकुद, मनोरञ्जन र सूचना प्रविधिको क्षेत्रमैत्री उद्यमशिलतामा उल्लेखनीय सफलता हासिल गरिसकेको उल्लेख गर्दै, अब यही ऊर्जा र क्षमतालाई देश निर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले दिगो विकास, उद्यमशिलता, स्वरोजगार र समावेशी समृद्धिको मार्गमा युवा शक्ति निर्णायक बन्ने विश्वास व्यक्त गरे। विश्वव्यापीकरण र सूचना प्रविधिको तीव्र विकासले ल्याएको अवसरलाई सदुपयोग गर्दै युवाहरूले सुशासन र समृद्धिको सपना पूरा गर्नु आजको प्रमुख कार्यभार भएको उहाँको भनाइ थियो।

तपाईको प्रतिक्रिया