‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउनेभन्दा अर्को पवित्र उद्देश्य छैन : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय अभियानलाई सबैभन्दा पवित्र र सर्वोच्च लक्ष्य भएको बताएका छन्।

शुक्रबार भक्तपुरमा आयोजित ‘बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश’ घोषणासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार उक्त राष्ट्रिय आकांक्षा साकार पार्ने दिशामा दृढतापूर्वक अघि बढिरहेको बताए।

“हामी नेपाललाई समृद्ध, आधुनिक र विकसित राष्ट्र बनाउन चाहन्छौँ,” प्रधानमन्त्री ओलीले भने, “यहाँका जनतालाई सुखी बनाउने लक्ष्य नै हाम्रो प्रमुख उद्देश्य हो। यसभन्दा ठूलो र पवित्र उद्देश्य अरू हुन सक्दैन।”

स्वास्थ्य क्षेत्रलाई समृद्ध नेपालको आधारका रूपमा अघि सार्दै प्रधानमन्त्री ओलीले ‘निरोगी नेपाल’ को अवधारणा प्रस्तुत गरे। उनले भने, “नेपालमा मानव मात्र होइन, पशुपंक्षी, वनस्पति, चराचुरुंगी सबै निरोगी हुनुपर्छ। यस्तो राष्ट्र बनाउँ, जहाँ कुनै पनि किसिमको विषादी खान नपरोस्।”

प्रधानमन्त्रीका अनुसार सरकार विकास, स्वास्थ्य सुरक्षा, र समृद्धिका सवालमा दीर्घकालीन सोचसहित कार्यान्वयनमा सक्रिय छ।

तपाईको प्रतिक्रिया