समावेशी सरसफाइका मुद्दा प्रभावकारी रूपमा उठाउन पत्रकारहरुद्वारा विशेष रिपोर्टिङ निर्देशिका तयार

काठमाडौं, असार ७, — नगरव्यापी समावेशी सरसफाइ (Citywide Inclusive Sanitation–CWIS) का विषयलाई प्रभावकारी, तथ्यपरक तथा जनमुखी ढंगले सञ्चारमाध्यममा प्रस्तुत गर्ने उद्देश्यले पत्रकारहरूले विशेष रिपोर्टिङ निर्देशिका (CWIS Reporting Guideline) तयार गरेका छन्।

आइतबार काठमाडौंमा आयोजित ‘सामावेशी सरसफाइ र सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मी, निजी क्षेत्रका प्रतिनिधि तथा सरोकारवालाहरूले समावेशी सरसफाइका चुनौती, अवसर र सञ्चारमाध्यमको भूमिकाबारे विस्तृत छलफल गरेका थिए। छलफलपछि सहभागी पत्रकारहरूले सरसफाइसम्बन्धी विषयलाई व्यवस्थित, अनुसन्धानमूलक र समाधानमुखी ढंगले उजागर गर्न विशेष रिपोर्टिङ सामग्री तयार गरेका हुन्।

कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले मानव मलमूत्र व्यवस्थापन (Faecal Sludge Management) क्षेत्रमा कार्यरत व्यवसायीहरूले विभिन्न प्रशासनिक तथा नीतिगत चुनौतीहरू सामना गरिरहेको बताएका थिए। आवश्यक इजाजतपत्र प्राप्त गर्ने प्रक्रियाको जटिलता, प्रशोधित तथा सङ्कलित फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव तथा नीतिगत अस्पष्टताले सेवा विस्तार र लगानी प्रवर्द्धनमा अवरोध पुर्‍याइरहेको उनीहरूको भनाइ थियो।

खानेपानी तथा ढल व्यवस्थापन विभागका डा. रजित ओझाले नेपाल तथा अन्तर्राष्ट्रिय अभ्यासबारे प्रस्तुति दिँदै सुरक्षित र दिगो सरसफाइ सेवाको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए। उनले सरसफाइ क्षेत्रको वर्तमान अवस्था, उपलब्ध तथ्यांक, विद्यमान चुनौती तथा विभिन्न मुलुकहरूमा निजी क्षेत्रको सक्रिय सहभागिताबाट हासिल भएका सकारात्मक अभ्यासबारे जानकारी गराए।

अन्तरक्रियाका क्रममा सञ्चारकर्मीहरूले सरसफाइलाई केवल शौचालय निर्माण वा भौतिक पूर्वाधार विकासको विषयमा सीमित गर्न नहुने धारणा राखे। उनीहरूका अनुसार सरसफाइ सार्वजनिक स्वास्थ्य, वातावरणीय संरक्षण, मानव अधिकार, लैङ्गिक समानता तथा सामाजिक समावेशितासँग प्रत्यक्ष रूपमा सम्बन्धित बहुआयामिक विकासको मुद्दा हो। त्यसैले सञ्चारमाध्यमले यस विषयलाई प्राथमिकताका साथ उठाउनुपर्नेमा उनीहरूले जोड दिए।

सहभागीहरूले सुरक्षित, दिगो तथा सबैका लागि पहुँचयोग्य सरसफाइ सेवा सुनिश्चित गर्न सरकार, निजी क्षेत्र, विकास साझेदार तथा सञ्चारमाध्यमबीचको सहकार्य थप सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए। समावेशी सरसफाइको लक्ष्य हासिल गर्न नीतिगत स्पष्टता, संस्थागत समन्वय, निजी क्षेत्रमैत्री वातावरण तथा प्रभावकारी जनचेतनामूलक सञ्चार अभियानलाई समानान्तर रूपमा अघि बढाउनुपर्नेमा उनीहरूको जोड थियो।

कार्यक्रमको निष्कर्षस्वरूप सहभागीहरूले नगरव्यापी समावेशी सरसफाइसम्बन्धी विषयमा तथ्यमा आधारित, अनुसन्धानमूलक र प्रभावमुखी पत्रकारितालाई प्रवर्द्धन गर्न विशेष रिपोर्टिङ निर्देशिका तयार गरिएको जनाउँदै सरसफाइका मुद्दालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउन सञ्चारमाध्यमले अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे।

तपाईको प्रतिक्रिया