समानुपातिकतर्फ रास्वपाको मत २० लाख नाघ्यो

काठमाडौं : प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २० लाखभन्दा बढी मत प्राप्त गरेको छ। हालसम्मको मतगणनामा उक्त पार्टी अग्रस्थानमा रहेको देखिएको छ।

आइतबार दिउँसो ४:२८ बजेसम्म कुल ४४ लाख ४३ हजार ११० मत गणना हुँदा रास्वपाले २१ लाख ९४ हजार ३१ मत प्राप्त गरेको निर्वाचन आयोगको विवरणमा उल्लेख छ। यो हालसम्म गणना भएको कुल मतको करिब ४९ प्रतिशत हाराहारी हो।

यसैगरी नेपाली कांग्रेसले ७ लाख ४९ हजार १९६ मतसहित करिब १६ प्रतिशत मत प्राप्त गरेको छ। नेकपा (एमाले) ले ६ लाख ३६ हजार ३६६ मत ल्याउँदै करिब १४ प्रतिशत मत पाएको छ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले २ लाख ९७ हजार ८५९ मतसहित करिब ६ प्रतिशत मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ लाख ५९ हजार ९८४ मत ल्याउँदै करिब ३ प्रतिशत मत पाएको छ।

अन्य राजनीतिक दलहरूले भने हालसम्म दुई प्रतिशतभन्दा कम मत प्राप्त गरेका छन्।

प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता प्राप्त गर्न प्रत्यक्ष निर्वाचनतर्फ कम्तीमा एक सिट र समानुपातिकतर्फ न्यूनतम तीन प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ।

तपाईको प्रतिक्रिया