सत्ता–प्रतिपक्षीबीच भिजिट भिसा प्रकरणमा छलफल

काठमाडौं — भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको मागसँगै प्रतिनिधि सभा लगातार अवरुद्ध भइरहेका बेला सदनको गतिरोध अन्त्य गर्न सत्ता र प्रतिपक्षी दलहरूबीच बुधबार छलफल भएको छ।

संघीय संसद भवन, नयाँ बानेश्वरस्थित शंकर हलमा दिउँसो सत्ता पक्ष र प्रतिपक्षी दलका नेताहरूबीच छलफल भएको हो। छलफलका विषयमध्ये प्रमुख रुपमा भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने प्रस्ताव उठेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारका अनुसार, सो विषयमा अहिले सत्ता पक्षका नेताहरूसँग प्रतिपक्षी दलहरू संवादमा छन्। परियारले सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले संसदीय छानबिन समिति गठनको सम्भावनाबारे दिएको अभिव्यक्तिलाई आधार बनाएर समिति गठन गर्नुपर्ने माग गरिएको जानकारी दिए।

गुरुङले हालै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकार सम्मेलनमा भिजिट भिसा प्रकरणमा अख्तियारले अनुसन्धान गरिरहेको र गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने अडान लिएको जानकारी दिएका थिए। साथै, आवश्यक परे संसदीय छानबिन समिति गठनसमेत हुन सक्ने धारणा व्यक्त गरेका थिए।

प्रतिपक्षी दलका सांसदहरू गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठनको माग गर्दै प्रतिनिधि सभा बैठक अवरुद्ध गर्दै आएका छन्। यसै सन्दर्भमा रास्वपाले नेपाली कांग्रेसलाई पनि सहमतिका लागि मस्यौदा पठाइसकेको जनाएको छ।

यसैबीच, सभामुख देवराज घिमिरेले पनि सदन सञ्चालनमा ल्याउने प्रयासस्वरूप प्रमुख सचेतकहरूसँग छुट्टै छलफल गरेका छन्। यद्यपि, बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक छलफलकै कारण तोकिएको समयमा सुरू हुन सकेको छैन।

तपाईको प्रतिक्रिया