सञ्चारमन्त्रीको विशेष पहलमा जाजरकोटको अवरुद्ध टेलिफोन सेवा पुनः सञ्चालन


काठमाडौँ —सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको विशेष पहलपछि दुई सातादेखि अवरुद्ध अवस्थामा रहेको जाजरकोटको बारेकोटको टेलिफोन सेवा पुनः सञ्चालनमा आएको छ।

नेपाल टेलिकमको सेवा अवरुद्ध भएकोबारे मन्त्रालयमा गुनासो पुगेपछि मन्त्री खरेलले तत्काल सम्बन्धित निकायलाई सक्रिय गराउँदै सेवा पुनः सञ्चालन गर्न निर्देशन दिएका थिए। त्यसपछि टेलिकमको प्राविधिक टोलीले मर्मत कार्य सम्पन्न गरी सेवा पुनः सुरु गरेको हो।

गत असोज ९ गते बारेकोट गाउँपालिका–५, रतनकोटस्थित नेपाल टेलिकमको टावरमा चट्याङ पर्दा सेवा अवरुद्ध भएको थियो। सोही घटनापछि करिब १० हजारभन्दा बढी स्थानीयवासी सञ्चार सेवाबाट बञ्चित भएका थिए।
यसका कारण आपतकालीन सम्पर्क, दैनिक कारोबार तथा पारिवारिक सन्देश आदान–प्रदानमा समेत कठिनाइ भएको थियो।

स्थानीयवासी प्रकाशमान सिंहले अब सेवा सञ्चालनमा आएकामा खुसी व्यक्त गर्दै टेलिफोनसँगै इन्टरनेट सेवाको क्षमता विस्तार गर्न आग्रह गरेका छन्।
उनका अनुसार जब फोरजी सेवा सुरु गरिएको थियो, तब गाउँपालिकाको जनसंख्या १२ हजार थियो। अहिले यो संख्या २२ हजार नाघिसकेको छ, जसअनुसार इन्टरनेटको माग र प्रयोगकर्ता दुवै बढेकाले सेवा थप प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा जोड दिएका छन्।

मन्त्री खरेलले जाजरकोटका बासिन्दाहरूको समस्या बुझेर तत्काल सेवा सञ्चालनका लागि कदम चालेको बताएका छन्।
उनले कर्णाली प्रदेशका दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, हुम्ला तथा सुदूरपश्चिम र मधेस प्रदेशमा सञ्चार सेवा विस्तारलाई विशेष प्राथमिकता दिइने स्पष्ट पारेका छन्।

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, सुर्खेतका निर्देशक डा. कमल लम्सालका अनुसार चट्याङले पूर्ण रूपमा क्षति पुर्‍याएको रेडियो उपकरण तथा अर्थिङ लगायतका सामग्री केन्द्रबाट ल्याई प्रतिस्थापन गरिएको हो।
अब सेवा विस्तार र गुणस्तर सुधारका लागि थप प्राविधिक टोलीसमेत फिल्डमा खटाइएको छ।

यस्तै, डोल्पाको भुर्तेचुला, सर्मी, कालिका र रुकुमपश्चिमको गोतामकोट क्षेत्रहरूमा अवरुद्ध वा कमजोर मोबाइल सेवाको गुणस्तर सुधार गर्न गोतामकोट स्टेशनमा नयाँ जेनेरेटर जडान गरिने जानकारी निर्देशक लम्सालले दिएका छन्। उक्त जेनेरेटर तिहारअघि नै सञ्चालनमा ल्याइनेछ।

तपाईको प्रतिक्रिया