श्रमजीवी पत्रकारसम्बन्धी ऐन परिमार्जन गर्ने :सञ्चार मन्त्री गुरुङ

फाइल तस्बिर।

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ लाई समसामयिक परिस्थितिअनुसार परिमार्जन गर्ने कुरा बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा मन्त्री गुरुङले ऐनमा संशोधन गर्न केही समय लाग्ने जनाउँदै वर्तमान ऐनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए। उनले केही सञ्चार गृहहरूको कारण ऐन कार्यान्वयनमा समस्या आएको उल्लेख गरे। उनले ऐनमा देखिएका समस्याहरूको समाधान गर्दै सुधार गर्ने आवश्यकता रहेको पनि बताए।

उनले भने, “श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ परिमार्जन गर्नेछौँ। यो हाम्रो प्रतिबद्धता हो। बहुदल र गणतन्त्रको आगमन पनि हाम्रै मन्त्रालयसँगै भएको हो। यसकारण, ऐन संशोधनको प्रक्रिया सुरू गर्छौँ। प्रकाशन र सञ्चार गृहहरूको कारण यो ऐन कार्यान्वयनमा समस्या आएको हो। यसमा सरकार र सम्बन्धित मन्त्रालयसँग आवश्यक संवादको कमी भएको देखिन्छ। अहिलेसम्म राज्यको कार्यप्रणाली र संस्कार यस्ता रहेछन्। तत्काल यस ऐनको कार्यान्वयनमा समस्या कहाँ–कहाँ आएको छ, त्यसको पहिचान गरेर सुधार गर्नुपर्छ। मन्त्रालय यसका लागि तयार छ।”

मन्त्री गुरुङले भने, “बन्न बाँकी ऐन र कानूनी प्रक्रियामा दलहरूको सहमतिमा फास्ट ट्र्याकबाट काम अघि बढाइनेछ। लामो समयदेखि थन्किएर बसेका विधेयकहरूलाई कानूनी रूप दिनको लागि अब हामी जुटिरहेका छौँ।”

उनले थप भने, “नयाँ ऐन बनाउन समय लाग्न सक्छ। तर, अध्यादेश ल्याए भने त्यसको विरोध आउन सक्छ। हामी दलहरू बीच सहमतिमा छौँ र निश्चित समयमा ऐन बनाउने प्रतिवद्धता जनाएको छौँ। ६-७ वर्षदेखि थन्किएका १९ वटा विधेयक यसपालि पारित गर्ने लक्ष्य राखेका छौँ।”

मन्त्री गुरुङले सञ्चार क्षेत्रको प्रभावकारी सुधारका लागि मन्त्रालय आवश्यक कदम चाल्ने कुरा पनि बताए। साथै, सञ्चारकर्मीहरूलाई मर्यादित भएर काम गर्न आह्वान गर्दै, मन्त्रालय यो दिशा अनुसार काम गर्ने प्रतिवद्धता जनाए।

तपाईको प्रतिक्रिया