सरकार नागरिकसँग नजिक : ललितपुर–१२ मा मन्त्री खरेलको प्रत्यक्ष संवाद

ललितपुर, वार्ड नम्बर १२, प्रयागपोखरी – माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आज ललितपुरको वार्ड नम्बर १२ स्थित वार्ड कार्यालयमा आयोजित कार्यक्रममा वार्ड अध्यक्ष, सदस्य, कर्मचारी तथा स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट गर्नुभएको छ। यस भेटघाटको मुख्य उद्देश्य स्थानीय तहमा रहेका वास्तविक समस्याहरू बुझ्नु र नागरिकका आवाज सरकारसम्म पुर्याउनु रहेको थियो।

कार्यक्रममा मन्त्री खरेलले भन्नुभयो, “सरकारको कामकाज केवल सिंहदरबारभित्र सीमित नराखी, स्थानीय समुदायसम्म पुगेर वास्तविक समस्या बुझ्नुपर्छ। नागरिकसँगको प्रत्यक्ष संवादले सरकारलाई उनीहरूको आवश्यकता अनुसार योजना बनाउने अवसर दिन्छ।”

उहाँले थप्नुभयो कि हालै विभिन्न टोल–छिमेकमा पुगेर नागरिकका माग, सुझाव र समस्याहरू संकलन गर्ने अभ्यास निरन्तर जारी छ। संकलित जानकारी स्थानीय तहमा विकास, सामाजिक सेवा र सूचना प्रविधि सम्बन्धी परियोजनाहरू कार्यान्वयन गर्न सहयोग पुर्याउने उहाँको भनाइ थियो।

मन्त्री खरेलले जोड दिनुभयो कि देशभरका स्थानीय तहमा पुगेर नागरिकका सुझाव र मागलाई समेट्नु केवल सरकारको जिम्मेवारी नभई पारदर्शिता र सहभागी लोकतन्त्र प्रवर्द्धन गर्ने मार्ग पनि हो। उहाँका अनुसार यसरी संकलित समस्याहरू र सुझावहरू सरकारका नीतिहरूमा प्रभाव पार्नेछन् र समावेशी विकासमा योगदान पुर्याउनेछन्।

स्थानीय प्रतिनिधिहरूले पनि केन्द्र सरकारसँग प्रत्यक्ष संवाद गर्न पाएको अनुभव सकारात्मक रहेको बताएका छन्। वार्ड अध्यक्ष नारायण लाल अवाले लेभन्नु भयो, “मन्त्रीज्यूले यहाँ आएर हाम्रो स्थानीय समस्याहरू सुन्नुभयो, यो हाम्रो लागि गर्वको कुरा हो। यसले नागरिक र सरकारबीचको दूरी कम गर्न सहयोग पुर्याउँछ।”

कार्यक्रमको अन्त्यमा मन्त्री खरेलले सङ्घ र स्थानीय तहबीच समन्वय, सहअस्तित्व र पारस्परिक सहयोग कायम राख्ने महत्त्वपूर्ण पक्षमा जोड दिनुभयो। साथै, उहाँले ऐतिहासिक, धार्मिक, साँस्कृतिक, हस्तकला, व्यापारिक तथा पर्यटकीय दृष्टिकोणबाट ललितपुर महानगरपालिका वडा नम्बर १२ को अवलोकन गर्नुभएको थियो।

यस भेटघाटले स्थानीय तह–सरकार बीच प्रत्यक्ष संवादलाई प्रवर्द्धन गर्ने, समस्याहरू छिटो पहिचान गर्ने र समाधानका लागि योजना बनाउने प्रक्रिया अझ प्रभावकारी बनाउने विश्वास गरिन्छ।

तपाईको प्रतिक्रिया